आर्मीद्वारा उपाधि रक्षा « Nagarik Khabar

आर्मीद्वारा उपाधि रक्षा



काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिबार भएको फाइनल खेलमा न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै आर्मीले पाँच लाख प्राप्त गरेको छ । उपविजेता न्यु होराइजनले दुई लाखमा चित्त बुझायो ।

सुर्खेत कालिन्चोक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रनको योगफल तयार गरेको थियो । जवाफमा न्यु होराइजनले १८.३ ओभरमा मात्रै ८७ रन बनाउँदा आफ्नो सबै विकेट गुमाएपछि आर्मीको उपाधि निश्चित भएको हो ।

आर्मीका लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ र भिम सार्कीले अविजित २१ रनको योगदान दिए । न्यु होराइजनका लागि भने बिशाल सुनारले सर्वाधिक २६ र निश्चल चौधरीले १९ रन जोड्न बाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

न्यु होराइजनलाई सहज योगफलमा रोक्न आर्मीका जितेन्द्र मुखिया र सहब आलमले तीन/तीन तथा सुशन भारीले दुई विकेट लिए । न्यु होराइजनका विकास श्रेष्ठले दुई विकेट लिएका थिए ।

प्रतियोगितामा न्यु होराइजनका कप्तान शक्ति गौचन सर्बाेत्कृष्ट खेलाडी चुनिए । यस्तै कर्णाली–११ का रबिन्द्र जंग शाही उत्कृस्ट ब्याट्सम्यान तथा आर्मीका सुशन भारी उत्कृस्ट बलर घोषित भए । सर्वाेत्कृष्ट घोषित खेलाडीले ५० हजार तथा उत्कृष्ट घोषित खेलाडीले २०÷२० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: