आफ्नो अन्तिम खेलमा बेङ्लोर विजयी, हैदरावादको प्लेअफ यात्रा संकटमा « Nagarik Khabar

आफ्नो अन्तिम खेलमा बेङ्लोर विजयी, हैदरावादको प्लेअफ यात्रा संकटमा



बेङ्लोर । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको आफ्नो अन्तिम खेलमा बेङ्लोर विजयी भएको छ । शनिबार भएको खेलमा बेङ्लोरले सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गरेको हो ।

यस अघिनै प्रतियोगिताबाट बाहिरी सकेको बेङ्लोरले जितसहित प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । बेङ्लोरसँगको पराजयले हैदरावादको प्लेअफ चरणको यात्रा भने संकटमा परेको छ । हैदरावादलाई प्लेअफ चरणमा पुग्न अब पूर्ण रूपले कोलकाता नाइटराइडर्सको खेलमा निर्भर रहनुपर्ने छ । कोलकाता आफ्नो अन्तिम खेलमा पराजित भएको अवस्थामा मात्रै अ‍ैदरावादको प्लेअफ सम्भावना रहने छ ।

शनिबार चिन्नस्वामी क्रिकेट स्टेडियम बेङ्लोरमा पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रनको योगफल तय गरेको थियो । जवाफमा बेङ्लोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै जित भेट्टाएको हो ।

बेङ्लोरको जितमा सिमरोन हेटमेयरले ४७ बलमा ७५ र गुर्किरात सिंहले ४८ बलमा ६५ रनको योगदान दिए । हेटमेयरले आफ्नो पालीमा ६ छक्का र ४ चौका तथा सिंहले १ छक्का र ८ चौका प्रहार गरे । त्यस अघि कप्तान केन विलियम्सनले ४३ बलमा अविजित ७० रनको योगदान दिए पनि हैदरावादको जित सम्भव भएन ।

बेङ्लोरका वासिङ्टन सुन्दर र हैदरावादका खलिल अहमेदले आआफ्नो टोलीका लागि ३/३ विकेट लिएका थिए ।

दिल्लीसँगको पराजयले राजस्थान बाहिरीयोे

शनिबार नै भएको अर्काे खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले पनि जारी आईपीएलको समूहगत चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेको छ । दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानलाई पराजित गर्दै दिल्लीले अंक तालिकाको शीर्ष स्थानमा रहेर समूहगत चरणको खेल टुङ्ग्याउने सम्भावना जिवितै राखेको छ । त्यसका लागि भने चेन्नाइ सुपर किङ्सले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पराजय बेहोर्नु पर्ने छ । दिल्लीसँग पराजित भएको राजस्थान प्रतियोगिताबाट बाहिरीएको छ । राजस्थानलाई प्लेअफ चरणको सम्भावना जिवित राख्ने दिल्लीलाई कुनै पनि अवस्थामा पराजित गर्नुपर्ने बाध्यता रहेको थियो । यद्यपि राजस्थान आफूलाई आवश्यक नतिजा लिन असफल भयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: