कार्ल मार्क्सः पत्रकारदेखि दार्शनिकसम्म « Nagarik Khabar

कार्ल मार्क्सः पत्रकारदेखि दार्शनिकसम्म



 

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर शहरमा जन्मिएका थिए । त्यो शहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधिनस्थ थियो र त्यसवेलासम्म पनि सन् १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्ति बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए, जुनवेला सम्पूर्ण युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । मार्क्स राम्रै आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका थिए । उनका पिताजी वकिल थिए ।

बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना–आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एक–अर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए । पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो ।

यो कमाउ धन्दा बढिरहँदा फ्रान्सेली क्रान्ति ताका लागेका नारा ‘मुक्ति’ ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।

उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास र दर्शन पढे ।

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा किसानमाथि गरिएको विभेदविरुद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले खासगरी फ्रेडरिक एंगेल्स लिखित तथा जर्मन–फ्रेन्च एनल्समा प्रकाशित ‘आउटलाइन्स अफ अ क्रिटिक अफ पोलिटिकल इकोनोमी’ पढे ।

त्यो एनल्समा मार्क्सका दुई निबन्ध छापिएका थिए । पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’ । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिन सँगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’को विपक्षमा ‘दी होली फ्यामेली’ लेखे । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।

पर्सियन सरकार (हालको जर्मन) सरकारले दबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो जुन बृहत् अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लैन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस समाजवाद पढ्न थाले श्रमजीवि सङ्गठनका नेताकार्यकर्तासँग उठबस गर्न थाले ।

दुईजना मिलेर १८४५ मै जर्मन आइडोलोजी नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो । १८४८ मा प्रुधोँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स सङ्गठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदान–प्रदानका लागि आदा अन्तर्रा्ष्ट्रिय सञ्जाल निर्माण गरे ।

त्यही सञ्जाल पछि गएर ‘श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलन’का रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘ओर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धन्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो ।

उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे । घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । ब्रसेल्सबाट निस्कासनमा परेपछि मार्क्स पुनः पेरिस फर्किए त्यसपछि कोलोन पुगे । त्यहाँ उनले, क्लास स्ट्रगल इन फ्रान्स, दी एटिन्थ ब्रुमेएर अफ लुई बोनापार्ट, ‘रिभ्योलुसन एन्ड काउन्टर रिभ्योलुसन इन फ्रान्स’ लेखे । जर्मन र फ्रान्सबाट पुनः लखेटिएपछि १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीँ रहे ।

इतिहास र सिद्धान्त

माक्र्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी माक्र्सवाद भन्छौँ, त्यो कल्पनामा होइन, ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन्, ‘मान्छेले आफ्नो इतिहास आफैँ बनाउँछ, कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन ।

त्यो इतिहास वर्गीय शोषण कुन चरणबाट गुज्रिँदै छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति’, आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने वर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ । ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक विषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका, राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ ।

इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज’ भने । यो वाक्यले नै माक्र्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको विचारको खाका प्रस्तुत हुन्छ ।

यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पुँजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे ।

त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘गु्रन्डरिसे’मा उल्लेख गरिएको पाइन्छ । जो सन् १९७० को दशकममा मात्र अंग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउट बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।

बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्किोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैवरले ‘पुँजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्तलाई’ प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । वर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट विशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पुँजीवादी समाजशास्त्रीहरू वैवरकै धरातलमा उभिएर माक्र्सवादको विरोध गर्ने गर्छन ।

मार्क्सको ‘हिस्टोरिकल म्याटेरियालिजम’ माक्र्सवाद मान्ने र नमान्ने दुवैथरी गम्भीर अध्येताहरूले राम्ररी बुझेका छन् र समर्थन र विरोधमा व्याख्या पस्किएका छन् । जस्तो लेनिन, रोजा, ग्राम्सी र चे ग्वेभारा आदि तीमध्ये प्रमुख हुन् । तर, कतिपय व्याख्या अधुरा र अपुरा रहेको भनाइहरू पनि आइरहेका छन् । क्यापिटलको पहिलो भोलुम छापिएपछि मार्क्सको देहान्त हुन पुग्यो ।

उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले ‘क्यापिटल’को भाग २ र ३ प्रकाशमा ल्याए । यतिवेलासम्म पुँजीका ६ वटा भाग खासगरी जमिन (ल्यान्डेड प्रोपर्टी), ज्यालादारी मजदुरी, वैदेशिक व्यापार, विश्व बजार र संकटमा आधारित ६ भाग प्रकाशित छन । पछिल्लो एक दशकयता ‘मार्क्स–एंगेल्स संकलनमाला (मेगा)’ गठन गरेर सबै सामग्री खोज्दा राजनीतिक अर्थशास्त्रका १५ वटा भोलुम तयार हुने कुरा प्रकाशमा आएको छ ।

मेगाले विश्व इतिहासको क्रोनोलोजी मात्रै १५ सय पृष्ठ भेटिएको जनाइएको छ । त्यतिवेलाका मार्क्सका साथीभाइ, इष्टमित्र र सामग्रीको तीव्रतासाथ खोजी भइरहेको छ । झन्डै २ सयका हाराहारीमा रहेका डायरी जुन समाज विज्ञान, इतिहास, मानवशास्त्र, प्रकृति विज्ञान र म्याथम्याटिक्ससँग जोडिएका भेटिएको दाबी गरिएको छ ।

यिनले विगतमा अधुराअपूरा रहेका कृति पूरा गर्न, कम व्याख्या भएका र अस्पष्टतालाई प्रस्ट बनाउन र व्यवस्थित गर्न सजिलो हुने जनाइएको छ (हेर्नुहोस्, जोन वेलामी फोस्टरद्वारा लिखित ‘माक्र्स ओपेन इन्डिड क्रिटिक’ मोन्थ्ली रिभ्यू, १ मे २०१८) । यसको अर्थ मार्क्सवाद अपुरो थियो अब पूरा हुने भन्ने अर्थ कदापि होइन । माक्र्सले आफ्नो जमानाको आर्थिक सामाजिक धरातलमा उभिएर गरेका खोज तथा अनुसन्धानले उनका त्यसवेला गरेका तर्कहरूलाई पुष्टि गर्न थप मद्दत पुग्नेछ ।
(नेपाली विकिपिडियाबाट)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: