प्रिमियर लिग उपाधिको टुङ्गो अन्तिम खेलबाट « Nagarik Khabar

प्रिमियर लिग उपाधिको टुङ्गो अन्तिम खेलबाट



लण्डन । लिभरपुलले न्युक्यासलविरुद्व अन्तिम समयमा ३–२ गोलको जित निश्चित गरेसँगै इङ्लिस प्रिमियर लिगको उपाधिको टुङ्गो सिजनको अन्तिम खेलबाटै हुने भएको छ ।

शनिबारको यो नतिजासँगै लिभरपुल पुनः दुई अंकको अग्रतासहित शीर्ष स्थानमा उक्लिएको छ । तर, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले लिगमा अझै अन्तिम दुई खेल खेल्न बाँकी रहेको छ । लिभरपुलको भने एक खेल मात्रै बाँकी रहेको छ ।

म्यान सिटीले सोमबार पछिल्लो समय लयमा देखिएको लेस्टर सिटीलाई आफ्नो मैदानमा स्वागत गर्दै छ । सो खेलमा जित हात पारे म्यान सिटी लिभरपुललाई एक अंकले पछि पार्दै पुनः शीर्ष स्थानमा उक्लने छ । यो अवस्थामा सिजनको अन्तिम खेलमा जित हात पार्दै साविक विजेता म्यान सिटीले उपाधि रक्षा गर्ने छ ।

यदि म्यान सिटी सोमबार लेस्टरसँग पराजित भएको अवस्थामा आफ्नो अन्तिम खेल जित्दै लिभरपुलले उपाधि जित्ने छ । लिभरपुलले शनिबार न्युक्यासलविरुद्व उसकै मैदानमा महत्वपूर्ण जित हात पारेको हो ।

खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा डिभोक ओरिजीको हेडिङ बल ‘डिफ्लेक्ट’ हुदै गोलमा परिणत भएको थियो । त्यससँगै लिभरपुलले ३–२ को जित आत्मसाथ गरेको हो । त्यसअघि दुई पटक लिभरपुलको अग्रतालाई घरेलु टोली न्युक्यासलले बराबरीमा फर्काइदिएको थियो ।

रक्षक ट्रेन्ट एलेज्यान्डर आर्नाेल्डले दुई गोलका लागि उत्कृष्ट पास उपलब्ध गराएपछि लिभरपुलले अग्रता बनाएको थियो । आर्नाेल्डको पासमा गोल गर्दै खेलको १३ औं मिनेटमा भिर्जिल भान डिज्कले लिभरपुललाई १–० ले अघि राखेका थिए । यद्यपि आर्नाेल्डकै गल्तीमा लिभरपुलले पहिलो गोल पनि बेहो¥यो ।

आर्नाेल्डले आफ्नै डि बक्स भित्र हातले बल छोएपछि दिएको पेनाल्टीमा गोल गर्दै क्रिस्टियन अत्सुले न्युक्यासललाई खेलको २०औं मिनेटमा १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसको आठ मिनेटपछि नै उनै आर्नाेल्डको अर्काे उत्कृष्ट पासमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल फेरी २–१ ले अघि बढेको थियो ।

खेलको ५४औं मिनेटमा जेभियर मान्क्विलोको पासमा जोसे रोन्डोनले न्युक्यासललाई २–२ को बराबरीमा फर्काएका थिए । त्यसपछि खेलको ७३औं मिनेटमा मैदानमा छिरेका ओरिजीले गोल गर्दै टोलीको जित ३–२ ले निश्चित पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: