नीतिले नेता चिनेन, नेताले नीति चिनेनन् : घनश्याम भुषाल « Nagarik Khabar

नीतिले नेता चिनेन, नेताले नीति चिनेनन् : घनश्याम भुषाल



काठमाडौं । अबको यात्रा समाजवादको यात्रा हो । यो यात्रा कस्तो हुने ? कस्तो बनाउने ? यो सबैको साझा एजेन्डा हुनुपर्छ । जब राजनीतिक पार्टी सिद्धान्तबाट च्युत हुन्छ, कार्यभार भुल्छ त्यसपछि सङ्गठन कस्तो बनाउने भन्ने सरोकार हुँदैन ।

सङ्गठनभित्र नेताहरूको चाकडी गर्ने गुटहरू जन्मन्छन् । यसो गर्दागर्दै मान्छे पार्टीमा होइन, गुटमा प्रवेश गर्दो रहेछ । त्यसपछि पार्टी भन्ने करिब–करिब अस्तित्वमा हुँदैन । किनभने पार्टीमा सिद्धान्त हुन्छ । गुटमा सिद्धान्त मरिसकेको हुन्छ ।

मान्छे गुटमा प्रवेश गर्दा व्यावसायिक, मनोवैज्ञानिक, ठेक्कापट्टाको सुरक्षा, खानी, खोला नामसारी गर्न, दोहन गर्न, जागिर पाउन, प्रमोसन पाउने अभिलाषा राखेको हुन्छ र प्राप्त पनि गर्छ ।

अहिले सिद्धान्तमा छलफल नगर्दा डेमोक्रेसी झन् झन् डिरेल भएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने, खास गरी गुटहरूको मण्डली, एक अर्थमा फेडेरेसन, काउन्सिल जस्तो बन्न जाँदो रहेछ । उदारवादी लोकतन्त्र, समाजवादी लोकतन्त्र होस् सिद्धान्तको प्रश्न यदि पार्टी हुन् भने ज्यादा महत्त्वको प्रश्न हो । तर यसको जवाफ कसले दिने सिद्धान्तको सङ्गठन हो कि गुटको अखडा हो छुट्ट्याउन कठिन छ ।

दलाल पूँजीवादले सबै पार्टीहरूलाई भित्रैसम्म एकखालको क्यान्सर सेकेन्ड स्टेज, फस्ट स्टेजमा त होइन धेरै माथि छ । कुन कुन कमिटीलाई कहाँसम्म गाँजेको छ त्यो अर्कै कुरा हो । त्यो क्यान्सरको भाइरसले पार्टीहरूमा सिद्धान्तको स्पेशलाई कच्याककुचुक्क पारिदिएको छ । त्यस कारण सिद्धान्तको विषय ‘फोरम’हरूमा छलफल हुन जरुरी छ । (पार्टीभित्र फोरम उपलब्ध भइदिएको भए छलफल गर्न सजिलो हुन्थ्यो ।)

राम्रो माक्र्संवादी पार्टी बन्यो भने लिबरल डेमोक्रेटहरुको पनि राम्रै पार्टी बन्छ । एक सय वर्षको सङ्गठित कम्युनिस्ट आन्दोलनको इतिहासमा कम्युनिस्ट पार्टीको नाममा यत्रो जनमत संसदीय लोकतान्त्रिक प्रणालीबाट कहीँ पनि आएको थिएन । हामी सानो मुलुक भएकाले खुम्चिएका छौँ, फ्रान्स, युरोपमा भएको भए सारा बौद्धिक विमर्श हाम्रै वरिपरि भइरहन्थ्यो । स्पेनमा सोसलिष्ट पार्टीले जित्दा ठुलो डिस्कोर्स चलिरहेको छ । स्पेन, पोर्चुगल, फ्रान्स जर्मनी जस्तो इकोनोमी भएको भए हामीले संसार हल्लाउन सक्थ्यौँ ।

अर्को यो उपलब्धिलाई सैद्धान्तिक रूपले, ऐतिहासिक रूपले विश्लेषण गर्ने हामी नेताहरू पनि भएनौ । धेरैजसोलाई के लागेको छ भने, हिजो राजाले खाए, त्यसपछि काँग्रेसले खाए, अब हाम्रो पालो, जनताले हामीलाई त्यो पालो पु¥याउन मत दिएका हुन् धेरैलाई लागेको छ । त्यो होइन, भनेर हामीले कहाँ भन्ने ? कसलाई भन्ने ?
राजनीतिक, बौद्धिक हैसियत कमजोर भएपछि हामी तल छौँ । यस्ता बेथितिहरूलाई राजनीतिक र मिडिया क्षेत्र दुवैबाट कसरी योगदान गर्न सकिन्छ, सोचौँ । अब मुद्दालाई मुद्दा बनाउने कुरामा केन्द्रित होऔँ । अहिले मार्क्सवादी स्कुल सञ्चालन गर्ने हो भने २० हजार युवालाई पढाउन सजिलै सकिँदो रहेछ । यसलाई ६ महिनाभित्र सञ्चालन गरिसक्ने अनुमान गरेका छौँ ।

मान्छेको मूल्याङ्कन गुटले गर्छ । गुटको बफदारी पार्टीहरूमा मान्छेहरूको हैसियत निर्धारण गर्ने कुरा भयो । साङ्गठनिक हिसाबले हामी असाध्यै अप्ठ्यारोमा छौँ, म त्यसलाई अकल्पनीय भन्छु । कम्युनिस्ट पार्टीको ब्यानरमा सङ्गठनको यो तरिका ? जसलाई ब्यानरमा लेनिनवादी भनिन्छ, यो भन्दा विरोधाभास कुरा अरू केही छैन । ‘हेर देशको हालत कस्तो छ, छाती पिटी चिच्याउनु जस्तो छ’ ।

सानैमा सुनेको प्रचण्डबहादुर बुढाथोकीको गीत जस्तो भयो । त्यो गीतमा मात्र मैले अहिलेको ऐठनको ‘एक्सप्रेस’ पाउँछु । यसको अर्थ हामी सिद्धान्तमा लडखरिएका छौँ । हेटौंडा महाधिवेशनपछि माओवादीले च्याप्टर क्लोज गर्दियो । हामीले चाहिँ नवौँ महाधिवेशनले के निर्णय गरेको थियो भनेर केन्द्रीय कमिटीमा पनि छलफल गरेनौँ ।
महाधिवेशनले के निर्णय गरेको छ, १, २, ३ भन्नसमेत तल गएनौ । त्यसको कारण नीतिले नेता चिनेन, नेताले नीति चिनेन । सिद्धान्तको मूल जरो नै काट्दिएपछि अहिले बोन्सायी भएको छ । बोन्सायी भनेको जापनिजहरूले मूल जरो काट्दिएपछि बढ्दो रहेनछ, अनि गमलामा सजाइदिने रुख । अहिले सिद्धान्तको अवस्था वाम आन्दोलनमा बोन्सायी भएको छ ।

कम्पनी हुँदा कम्पनीको अनुशासन, पार्टी हुँदा पार्टीको अनुशासन, क्लबमै पनि अनुशासन हुन्छ । तर हाम्रो पार्टीभित्र अहिले के-के भएको छ ?

(नेकपाका स्थायी कमिटी सदस्य भुषालले एक कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: