विपद व्यवस्थापनको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन (भिडियोसहित) « Nagarik Khabar

विपद व्यवस्थापनको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आइपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्वतयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा ओलीले विपत्तका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराए । विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री ओलीले सबै तहका सरकारलाई निर्देशन दिएको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए ।

बैठकमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर २ भएकाले त्यसका लागि विशेष खालको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरे । गर्मीमा आगलागी, हावा÷हुरी, वर्षामा डुबान र कटान, हिउँमा शीतलहरका कारण मानिसको ज्यानै जाने अवस्था भएकाले त्यसको व्यवस्थापनका लागि विशेष व्यवस्था गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

बैठकले विगतमा गरिएका विपद् व्यवस्थापनको समीक्षा गर्दै आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनका लागि सहकार्यका साथ काम गर्ने सहमति गरिएको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, गृहसचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: