कुखराको मासु निर्धक्क भएर खाँदा हुन्छ : सरुवारोग विशेषज्ञ डा. पुन (भिडियोसहित) « Nagarik Khabar

कुखराको मासु निर्धक्क भएर खाँदा हुन्छ : सरुवारोग विशेषज्ञ डा. पुन (भिडियोसहित)



  • डा. शेरबहादुर पुन

काठमाडौं । नेपालमा बर्ड फ्लुबाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बर्ड फ्लुबाट पहिलो पटक मानिसको मृत्यु भएको खबर सार्वजनिक भएलगत्तै आममानिसमा त्रास पैदा भएको छ ।

मानिस कुखुराको मासु खान डराउन थालेका छन् । कतिपयले खानै छोड्नु पनि भएको होला । जुन स्वभाविक पनि हो । तर, तपाईहरु निर्धक्क भएर कुखुरा वा अन्य पक्षीको मासु तथा अण्डा खान सक्नु हुन्छ ।

बर्ड फ्लुबाट मानिसको मृत्यु भएको भनी सार्वजनिक अहिले भए पनि त्यो घटना अहिलेको होइन । अर्को कुरा यो रोग मान्छेबाट मान्छेमा अहिलेसम्म सरेको छैन । विशेषतः नेपालीहरुले खाने अधिकांश परिकारहरु राम्रोसँग नै पकाएर मात्र खाने गरिन्छ । त्यसैले बर्ड फ्लु सर्छ भनेर डराउनु पर्दैन । किनकि, कुनै पनि जीवाणु सामान्यतः ७० डिग्री सेल्सिय तापक्रममा नष्ट हुन्छ । यद्यपि, संक्रमण फैलिएको बेला भने ठाउँअनुसार केही सर्तकता अपनाउनुपर्ने पर्दछ ।

के हो बर्ड फ्लु ?

बर्ड फ्लु चराका प्रजातिबाट फैलिने रोग हो । त्यसैले यसलाई बर्ड फ्लु भनिएको हो । बर्ड फ्लुमा एच फाइभ एन वान् नामक भाइरस पाइन्छ । यो भाइरस अहिलेसम्म मान्छेबाट मान्छेमा सरेको घटना छैन । यदि मान्छेबाट मान्छेमा सर्न थाले यो खतरनाक हुन्छ ।

अरु भाइरसको तुलनामा एचफाइभएनवान् भाइरसको संक्रमणबाट मृत्युदर अत्याधिक ६० प्रतिशतसम्म पनि हुने हुन्छ । यसको सामान्य अरु इन्फ्युइन्जामाजस्तै लक्षण हुन्छ । जस्तैः खोकी लाग्ने, ज्वरो आउने, पातालो दिशा हुने इत्यादि । तर यसमा भने सामान्यभन्दा अलि कडा हुन्छ ।

स्वाइन फ्लु पनि पहिले सुँगुरमा मात्र थियो । पछि मान्छेबाट मान्छेमा सर्‍यो । त्यसैले सामान्य नागरिकभन्दा पनि जानकारहरुका लागि यो बढी चिन्ता विषय हो । यसमा हाम्रो गृहकार्य भएको छैन । यो रोगको जोखिम विशेषगरी ओसारपसारमा खटिएको व्यक्तिहरु रहन्छन् ।

(डा. पुन काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विभागीय प्रमुख हुन्।)

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: