एसइई परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी कारागार चलान « Nagarik Khabar

एसइई परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी कारागार चलान



सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ ।

अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाएको हो । प्रहरी जवानद्वय यादव र मण्डल इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत रहेका थिए ।

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँधरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको छ ।

त्यस्तै, राजविराज नगरपालिका–१६ निवासी शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)का प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षा अगावै सार्वजनिक भएको भन्दै उहाँहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादा विपरीत कार्य सम्बन्धित मुद्दा चलाएको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाई विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाई ब्रह्मदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक रहेका मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: