विषादी भएका तरकारी र फलफूल कसरी प्रयोग गर्ने ? (भिडियोसहित) « Nagarik Khabar

विषादी भएका तरकारी र फलफूल कसरी प्रयोग गर्ने ? (भिडियोसहित)



काठमाडौँ । नेपालमा वार्षिक झन्डै ७० करोड रुपैयाँको विषादी आयात भइरहेको छ । हरेक वर्ष विषादीको आयात बढेको छ । कृषि विभागले अघिल्लो आर्थिक वर्षमा झन्डै ७० करोडको विषादी आएको जनाएको छ ।

नेपालमा आउने विषादी मध्य ९० प्रतिशत तरकारी र बाँकी १० प्रतिशत फलफुल तथा खाद्यान्नमा प्रयोग भइरहेको छ । विषादीको प्रयोग भएका तरकारी, फलफुल र खाद्यान्नको सेवनले गर्भवती महिलामा जटिल स्वास्थ्य समस्या ल्याउने चिकित्सकले बताएका छन् ।

महिलामा बाँझोपन देखिने, बालबालिका अपाङ्ग जन्मिने र सुस्त मनस्थितिका जन्मने र क्यान्सर, ट्युमर, नशा सम्बन्धी स्वास्थ्य समस्या समेत देखिन्छ । काठमाडौँ उपत्यका र आसपासका जिल्लामा सबैभन्दा धेरै विषादीको प्रयोग हुन्छ । त्यसैले काठमाडौँ र आसपासका क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल र खाद्यान्न विषादी युक्त छन् ।

धादिङ, काभ्रे, मकवानपुर र चितवनमा विषादी प्रयोग धेरै हुन्छ । विषादीको असर मानिसमा मात्र होइन वन्यजन्तु, पानीका स्रोत, माटो तथा हावामा समेत परेको छ । विषादीकै कारण मित्रु जीव समेत नष्ट भइरहेका छन् । विज्ञहरूले विषादी प्रयोग भएका तरकारी, फलफूल र खाद्यान्न सेवनमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक रामबहादुर केसीको सुझाव ।

कसरी भित्रिन्छ भान्छामा ?

भान्छामा लैजाने तरकारी, फलफूल र खाद्यान्नबाट हामीले घरभित्र विषादी लगिरहेका छौँ । बोट बिरुवामा रोग किरा लागेको अवस्थामा हामीले त्यसलाई मार्नका लागि विषादीको प्रयोग गर्छौ । किसानका लागि अन्य विकल्प नहुँदा उनीहरूले विषादीको प्रयोग गरिरहेका छन् ।

विषादी छर्दा, तरकारी, फलफूल र खाद्यान्न भण्डार गर्दा तथा सेवन गर्दा हामीलाई त्यसले असर गर्छ । असरबाट बच्नका लागि विभिन्न प्रकारका विधि अपनाउनु पर्छ । मैले आज विषादी प्रयोग भएका तरकारी, फलफूल र खाद्यान्न कसरी सेवन गर्ने भन्ने विषयमा केन्द्रित भएर कुरा गर्छु ।

बजार क्षेत्रमा पाइने सबै तरकारी, फलफूल र खाद्यान्नमा विषादी प्रयोग भएका हुन्छन् । विषादीले गर्भवती महिला र बच्चामा धेरै नै असर पुर्‍याउँछ ।

नेपालमा बढ्दो शहरीकरणका कारण सन् २०३० सम्ममा धेरै मानिस सहरमा बस्छन् । सरकारी क्षेत्रबाट भएको अनुसन्धान अनुसार सन् २०३०सम्म देशको आधा भन्दा धेरै जनसङ्ख्या सहरमा बस्ने गर्छ ।

उब्जनी बढाउनका लागि विषादी प्रयोग गर्नु आवश्यक हुन्छ । हामीले मात्र होइन जापान, कोरिया लगायतका एसियाका विकसित देशले धेरै नै विषादी प्रयोग गर्छन् । हामीले प्रति हेक्टर १ सय ४२ ग्राम विषादी प्रयोग गर्दा जापानमा १० किलो र कोरियामा २० किलो प्रयोग भएको छ । त्यसैले हामी कम विषादी प्रयोग गर्ने मुलुकमा पर्छौँ । यसको अनुसन्धानमा म आफैँ सन् २०१२ मा संलग्न थिए ।

व्यावसायिक खेतीका लागि विषादी अनिवार्य कुरा हो । हामीले हाम्रा फलफूल, तरकारी र खाद्यान्नमा कति मात्रामा विषादी छ भनेर जाँच्न सुरु गरेका छौँ । रुपन्देही, काठमाडौँ र पोखरामा विषादीको अवस्था पत्ता लगाउने प्रयोगशाला सञ्चालन गरेका छौँ । त्यसरी हेरेका खाद्य बस्तु कसरी सेवन गर्ने वा नगर्ने भन्ने कुरा सरकारले पनि व्यवस्थित गर्दै जानुपर्छ । किसानले पनि जिम्मेवार बन्नु पर्ने देखिन्छ । सबै किसान पैसाको पछि दौडिनु हुँदैन ।

विषादी प्रयोग भएका खाद्यवस्तुबाट कसरी बच्ने ?

पहिलो तरिका भनेको सामान्य धुने हो । त्यसरी धोइपखाली गर्दा समेत नगएको विषादीलाई विभिन्न तीन प्रकारले घरमै हामीले विषादी मुक्त पार्न सक्छौँ । पूर्ण रूपमा त नभनौं धेरै चाहिँ हामीले हटाउन सक्छौँ । भिनेगर, बेकिङ सोडा र नुन पानीको माध्यमबाट हामीले विषादी कम गर्छ सक्छाैँ ।
अहिले बजारमा पाइने भिनेगरले हामीले तरकारी, फलफुल र

खाद्यान्नमा भएको विषादी कम गर्न सकिन्छ । भिनेगर पानीमा डुबाउँदा त्यसले विषादी कम गर्छ । तर आम नागरिकका लागि यो बढी महँगो पर्छ । त्यसैले हामीले बेकिङ सोडा र नुन पानीलाई बढी ध्यान दिनुपर्छ ।

खाने सोडाको प्रयोग गर्न सामान्यतः हामीले सजिलै सक्छौँ । जुन बेकरीमा पाउरोटी बनाउँदा समेत प्रयोग हुन्छ । बेकिङ सोडा प्रतिलिटर पानीमा १० ग्राम राख्नु पर्छ । जति पानी चाहिन्छ त्यसै अनुसार सोडा पनि थप्दै जानु पर्छ । त्यसमा हामीले तरकारी र फलफुल राख्न सक्छौँ । सामान्य तया कम्तीमा १५ मिनेट डुबाएर राखेपछि त्यसलाई राम्रोसँग सफा गर्नुपर्छ ।

नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नु पर्छ । त्यसरी नुन पानीमा फलफुल तथा तरकारी हामीले १५/२० मिनेट हामीले डुबाउनु पर्छ । नुनले पनि बिषाक्त पदार्थलाई निकाल्छ । समय पुरा भएपछि राम्रोसँग हामीले सफा पानीले धोएपछि खानका लागि योग्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: