जुमानु र अनुलाई विशेष योगदान अवार्ड « Nagarik Khabar

जुमानु र अनुलाई विशेष योगदान अवार्ड



काठमाडौं । जुमानु राई र अनु लामा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा विशेष योगदान अवार्डबाट सम्मानित भएका छन् । जुमानु र अनुलाई एन्फाले आइतबार विशेष समारोहको आयोजना गरी सम्मान गरेको हो ।

राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर जुमानु राईले सक्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका छन् । यस्तै महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु पनि अहिले राष्ट्रिय टोलीमा छैनन् । दुबै खेलाडीले सम्मानसँगै जनही १५/१५ लाख पनि प्राप्त गरेका छन् । साथै उनीहरूले एक/एक थान मोटरसाइकल पनि प्राप्त गरेका छन् ।

यस्तै एन्फाले प्रशिक्षक भगिरथ आले ‘मामा’लाई लाइफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । आफ्नो जीवनको पुरा समय नेपाली फुटबलमा खर्चिएका भगिरथलाई एन्फाले लाइफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो । उनले अवार्डसँगै तीन लाख ५० हजार र एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।


यस्तै महिला राष्ट्रिय टोलीकी मञ्जली कुमारी योञ्जन महिलातर्फ र अभिशेक रिजाल पुरुषतर्फको इमर्जिङ खेलाडी घोषित भएका छन् । उनीहरूले पनि जनही एक/एक लाख रकम र एक/एक थान मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

गोलरक्षक किरणकुमार लिम्बू र रोहित चन्द विदेशी लिगमा खेल्नेमध्ये उत्कृष्ट नेपाली खेलाडीको अवार्ड जिते । किरण माल्दिभ्स र रोहित इन्डोनेशियाको क्लबबाट व्यवसायीक फुटबल खेल्दै आइरहेका छन् । उनीहरूले अवार्डसँगै एक/एक लाख प्राप्त गरे ।

नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक हरी खड्काले उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे । उनले अवार्डसँगै एक लाख प्राप्त गरे । अस्मिता मानन्धर उत्कृष्ट महिला र लव खत्रीले पुरुषतर्फको उत्कृष्ट रेफ्रीको अवार्ड प्राप्त गरे । उनिहरूले एक/एक लाखसँगै एक/एक थान स्कुटर प्राप्त गरेका छन् ।


यो सिजनको शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मनाङ मस्र्याङदी क्लब उत्कृष्ट क्लब र मोरङ जिल्ला फुटबल संघ, उत्कृष्ट जिल्ला संघको रुपमा पुरस्कृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: