पुरा भयो प्लेअफ समिकरण, कोलकाता पराजित हुँदा हैदरावाद प्लेअफमा « Nagarik Khabar

पुरा भयो प्लेअफ समिकरण, कोलकाता पराजित हुँदा हैदरावाद प्लेअफमा



मुम्बई । समूहगत चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग पराजित हुँदा कोलकाता नाइट राइडर्स जारी इन्डियन्स प्रिमियर लिग (आईपीएल) को समूहगत चरणबाट बाहिरीएको छ । कोलकाता आइतबार भएको खेलमा मुम्बईसँग ९ विकेटले पराजित भएको हो ।

कोलकातालाई फाइनलमा स्थान सुरक्षित गर्न कुनै पनि अवस्थामा मुम्बईलाई पराजित गर्नुपर्ने अवस्था थियो । यद्यपि कोलकाता भारी अन्तरले पराजित हुन पुग्यो । कोलकाता पराजित हुँदा आइतबार मैदान बाहिरै रहेको सनराइजर्स हैदरावाद प्लेअफ चरणमा पुगेको छ ।

हैदरावाद, कोलकाता र किङ्स इलाभेन पञ्जावको समान १२/१२ अंक भए पनि नेट रनरेटका आधारमा हैदरावाद प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको हो । वाङ्खेडे स्टेडीयम मुम्बईमा टस हारी पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको थियो । जवाफमा मुम्बईले १६ ओभरमा मात्रै १ विकेट गुमाएर जित पक्का गरेको हो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ४८ बलमा अविजित ५५ तथा सुर्यकुमार यादवले २६ बलमा अविजित ४० रनको योगदान दिए । रोहितले आफ्नो पालीमा आठ चौका र सुर्यकुमारले एक छक्का र पाँच चौका प्रहार गरेका थिए ।

कोलकाताका लागि भने क्रिस ल्यानले ४१ र रोबिन उथप्पाले ४० रन जोड्न बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ कोलकातालाई सस्तो योगफलमा समेट्न मुम्बईका लासिथ मालिङ्गाले तीन तथा जसप्रित बुमरा र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिएका थिए ।

त्यस अघि आइतबार नै भएको अर्काे खेलमा पञ्जावले चेन्नाई सुपर किङ्सलाई ६ विकेटले पराजित गरेको थियो । यद्यपि यो जित पञ्जावलाई प्लेअफ चरणमा पुग्न पर्याप्त बनेन ।

मोहालीमा टस हारी पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७० रनको योगफल तय गरेको थियो । जवाफमा आएको पञ्जावले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । पञ्जावको जितमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ३६ बलमै ७१ रनको योगदान दिएका थिए । उनले आफ्नो पालीमा ५ छक्का र ७ चौका प्रहार गरेका थिए । यस्तै बलिङतर्फ पञ्जावका साम कुरानले तीन विकेट लिएका थिए ।

चेन्नाईका लागि फ दु प्लेसिसले ५५ बलमा ९६ रनको योगदान दिए पनि टोलीको जित सम्भव भएन । उनले आफ्नो पालीमा चार छक्का र १० चौका प्रहार गरेका थिए । सुरेस रैनाले ३८ रनमा थप ५३ रनको योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: