कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ना–८ साबिक तत्कालिन मोतीपुर गाविस अन्तर्गत पर्ने बाणगंगा नदीको सार्वजनिक जग्गा व्यक्तिलाई बेचिएको मुद्दामा पैसाको चलखेल भएको स्थानीयको आरोप छ। सो जग्गाको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । जग्गा बेचिएको मिसिल मालपोतबाटै गायव भएको पनि स्थानीयको आरोप छ ।
२०६८ सालमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंमा सोही विषयमा मुद्दा दर्ता गराउने समूह आबद्ध व्यक्तिहरूले सो मुद्दामा आर्थिक चलखेल भएको आरोप लगाएका हुन्। अख्तियारमा मुद्दा हाल्नेमध्येका एक बाणगंगा नगरपालिका–५ कोपवाका चिरञ्जीवी गिरीले आफ्नो समूहले अख्तियारमा मुद्दा हालेको सात वर्ष बितिसक्दा पनि अहिलेसम्म सो मुद्दाको किनारा नलाग्नुमा आर्थिक चलखेल भइरहेको आरोप लगाए। ‘तत्कालीन मालपोत, नापीलगायत कार्यालयको मिलेमतोमै नदीको जग्गा व्यक्तिलाई बेचिएको हो,’ उनले भने ‘त्यसविरुद्ध हामीले लामो पहल र कसरत गरेपछि बल्ल २०७१ सालमा अख्तियारले छानबिन गरी जग्गा बदर गर्ने सिफारिस गरेको थियो। तत्कालीन मालपोत प्रमुख सेते घर्तीकै मिलेमतोमा नदीको लालपुर्जा व्यक्तिलाई बाँडेको अनेक प्रमाणहरू फेला परेका छन्।’