- कविता
म आगोमा जलिरहेँ
फलामझैं निर्मम चुटिएँ
तिमी रमिता हेरिरह्यौ
कि म गजबको तमासा थिएँ
लेख्दै गयौ म जलेको गजल
गाउँदै गयौ प्रीत मरेको मेरो उदास गीत !
ईश्वर बनाई पूजें राखेर मनको आसनमा
तिमी मन्दिरबाट निस्कियौ
र भयो एउटा इश्वरको अवसान दुनियाँबाट !
मेरो त्यही ईश्वरको मृत्युमा
लेख्न बसेको छु एउटा शोकगीत
ए ! संगीतकारहरु
भरिदेऊ एउटा यस्तो जीवन्त धून
ईश्वरहरुले फेरुन जूनी र बनून मान्छे
कि देख्न सकून् साराले
मान्छेहरुको छातिमा ध्यानमग्न ईश्वर !
- रिमा केसी