संसदमा महन्थ ठाकुरको प्रश्नः गृहमन्त्रालय भारतीय हो ? « Nagarik Khabar

संसदमा महन्थ ठाकुरको प्रश्नः गृहमन्त्रालय भारतीय हो ?



 

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा आफ्नो पार्टीका लागि केही पनि नभएको दावी गरेका छन् ।
नेता ठाकुरले सरकारको नीति तथा कार्यक्रममा नयाँपन नभएको पनि बताए । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।
नेता ठाकुरले मधेशका जनतालाई अझै पनि विदेशी नागरिक ठान्ने गरिएकोमा आपत्ति पनि जनाए । उनले भारतीयहरुले नागरिकता लिएको भए दिने गृह मन्त्रालय पनि भारतीय हो ? भनि प्रश्न पनि गरे । मधेशमा जन्मिएकै कारण आफूहरु राज्यको विभेदको शिकार हुनुपरेको नेता ठाकुरको गुनासो छ । ‘आफ्नै घरमा, आफ्नै खेतबारीमा बसेका मधेशका जनताले विदेशी भनेको पीडा भोगिरहनु परेको छ, नेता ठाकुरले थपे , ‘मधेशको भाषा, मधेशको संस्कृतिमाथि विभेद गरेर कसरी नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भयो ?’

नेता ठाकुरले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भईरहेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे । उनले राज्य झनै निरंकुश भन्दै गएको अनुभूति भईरहेको पनि बताए ‘सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भईरहेको छ । यस्तो अवस्थामा निरंकुशताबाट राज्य र जनता मुक्त छ’ भन्न नमिल्ने नेता ठाकुरको भनाई छ । उनले संविधानमा आफूहरुको सहमति नरहेको पनि दोहोर्याएका छन् । नेता ठाकुरले यो संविधानले जनताको मतबाट निर्वाचित आफ्ना पार्टीका सांसद रेशम चौंधरीलाई अपराधि करार गरेको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: