काठमाडौं । नेपाल प्रहरीका पाँच वरिष्ठ प्रहरी उपरिक्षकको सरुवा भएको छ । प्रहरी प्रधानकार्यालयले गरेको सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा उत्तमराज सुवेदी, अपराध महाशाखामा सहकुल थापा, लागु औषध नियन्त्रण ब्यूरोमा वसन्त लामा र तालिम निर्देशनालयमा धिरतप्रताप सिंहको सरुवा भएको हो ।
त्यसैगरी पुरुषोत्तम कँडेललाई विराटनगर तालिम केन्द्रमा सरुवा गरिएको छ । प्रहरी प्रवक्ता समेत रहेका सुवेदीलाई काठमाडौं परिसरको जिम्मेवारी दिइएको छ । नौ महिना नपुग्दै परिसरका प्रमुख लामाको सरुवा गरिएको हो । लागुऔषध ब्यूरोमा दरवन्दी रहेका विश्वराज पोखरलेको डिआइजीमा बढुवा सिफारिस भएपछि उनको स्थानमा परिसरका लामालाई लगिएको छ ।
नेपाल प्रहरीको प्रवक्तामा उमेशराज जोशीलाई जिम्मेवारी दिने तयारी भएपनि प्रवक्ता तोकिएको छैन । त्यसैगरी एक बर्ष अघि अपराध महाशाखामा आएका सिंहको स्थानमा थापालाई ल्याइएको छ । दुई दिन अघि बर्दियाका एसपी सुरेन्द्र मैनालीलाई प्रहरी प्रधानकार्यालयको कल्याण शाखा र त्यही शाखामा रहेका राजेशनाथ बास्तोलालाई बर्दिया सरुवा गरिएको थियो ।