बेलायती राजदूतलाई उपराष्ट्रपति पुनले भने –गोरखा सैनिकका मागमा बेलायत उदार होस् « Nagarik Khabar

बेलायती राजदूतलाई उपराष्ट्रपति पुनले भने –गोरखा सैनिकका मागमा बेलायत उदार होस्



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आधुनिक बेलायत निर्माणका लागि गोरखा सैनिकहरुको उच्च योगदान रहेको बताएका छन् । उनले गोरखा सैनिकहरुको उचित मागमा उदारता र लचकता अपनाउन बेलायत सरकारसँग आग्रह गरेका छन् ।

‘आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको ठूलो योगदान छ’, शिष्टाचार भेटका लागि सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय पुगेका नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसँगको भेटमा उपराष्ट्रपति पुनले भने, ‘गोरखा सैनिकका उचित मागहरु संबोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने छ भन्ने हाम्रो विश्वास छ ।’ उनले गोरखा सैनिकको सुविधाका लागि बेलायत सरकारले केहीं समय अघि सार्वजनिक गरेको सुविधा प्याकेज भने स्वागतयोग्य भएको बताए ।

उपराष्ट्रपतिले बेलायती राजदूतसँगको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध धेरै पूरानो र जनस्तरसम्म फैलिएको बताएका छन् । ‘दुई देशबीचको औपचारिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगेको छ । विशिष्ट प्रकारको हाम्रो सम्बन्ध अहिले जनस्तरसम्म फैलिएर प्रगाढ बनेको छ,’ भेटमा उपराष्ट्रपतिले भने ।

उपराष्ट्रपतिले नेपाल भ्रमण गर्ने बेलायतीहरुको संख्या बढीरहेको भन्दै भ्रमण वर्ष २०२० मा अझै थपिने विश्वास व्यक्त गरे । उनले नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दै बेलायती व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रोत्साहन गरिदिन आग्रह गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिसँगको भेटमा बेलायती राजदूत मोरिसले गोरखा सैनिकले पु¥याएको योगदानप्रति बेलायत सरकार नतमस्तक भएको बताए । ‘बेलायती गोरखाले विश्वमा कायम गरेको प्रसिद्धिप्रति हामी नतमस्तक छौँ’, उनले भने ।

राजूदत मोरिसले नेपाल बेलायतको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सहयोग गर्न सधै तयार रहेको बताए । उनले समृद्ध नेपाल, सुखी नेपालीका लागि बेलायती युवा व्यवसायीहरुले नेपालमा लगानी गर्न चाहिरहेको उल्लेख गर्दै दुई देशका युवा व्यवसायीहरुबीच अन्तरक्रिया गराउनुपर्नेमा जोड दिए ।

राजदुत मोरिसले गोरखा सैनिकका लागि बेलायतले विशेष प्याकेज ल्याएको उल्लेख गर्दै गोरखा सैनिकका धेरै समस्या समाधान भएको बताएका छन् । उनले गोरखा सैनिकका बाँकी समस्या समाधान हुँदै जाने बताएको उपराष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ ।

यसै गरी सोमबार नै उपराष्ट्रपतिसँग यूरोपियन यूनियनकी राजदूत भेरोनिका कोडीले शिष्टाचार भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: