अमेरिकालाई भारतको प्रत्युत्तर : २८ किसिमका अमेरिकी सामानमा करवृद्धि « Nagarik Khabar

अमेरिकालाई भारतको प्रत्युत्तर : २८ किसिमका अमेरिकी सामानमा करवृद्धि



एजेन्सी । भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखर समेतका सामानमा करवृद्धि गरिएको छ ।

भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुबै देशले एकअर्का मुलुकका सामानमा करवृद्धि गरेका छन् । तैपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषि लगायतका कतिपय क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आएका छन् ।

भारतले अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गरेको छ ।
आगामी जुन २८–२९ मा जापानको ओशाकामा हुने २० औद्योगिक राष्ट्रहरुको सम्मेलनका क्रममा पनि करवृद्धिका विषयमा भारत र अमेरिकी नेताहरुबीच छलफल हुन सक्नेछ ।

सरकारी विवरण अनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: