सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ! « Nagarik Khabar

सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान !



काठमाडौं । राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ? प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।

पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।

प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए ।

‘एक महिने अवधिमा प्रहरीले ठूलो सफलता पाएको छ, यसबाट राजधानी थप सुरक्षित हुनेछ,’ उनले भने ।

पक्राउ परेकालाई परिसरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियानका क्रममा सार्वजनिक यातायातमा २ देखि ६ जनासम्मको समूह बनाई बसमा छिर्ने र पैसा भएको व्यक्ति बनाई गोप्य भाषा (कोड भाषा) प्रयोग गरी घेराबन्दीमा पार्ने र त्यसपछि मोबाइल, नगद तथा सुनचाँदी पकेट मारेर भाग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

एकजना पाकेटमाराले त आफू प्रहरी हबल्दार भएको भन्दै प्रस्तुत गरेको समेत प्रहरीले जनाएको छ ।

अभियानका क्रममा पाकेटमारी गर्दै गरेको अवस्थामा विभिन्न व्यक्तिको ६ लाखभन्दा बढी नगद बरामद गरी तत्काल सम्बन्धितलाई फिर्ता गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी गराए । सो क्रममा पाँचथरका नगेन्द्र लिम्बूको २ लाख नगद पाकेट मार्ने क्रममा प्रहरीले रंगेहात पक्राउ गरी लिम्बूलाई फिर्ता गरिसकेको छ । बरामद भएको ९३ हजार रकम चोरी मुद्दा चलाई अदालतबाट प्रमाणित गरेर फिर्ता गर्ने क्रममा रहेको जानकारी दिइयो ।

परिसरका अनुसार कानुनबमोजिम पहिलोपटक पक्राउ पर्नेलाई एक महिना जेल तथा बिगो बराबरको जरिमाना, दोस्रोपटक पक्राउ पर्नेलाई दुई महिना जेल सजाय र बिगो बराबरको जरिमाना वा दुवै सजाय हुने र सार्वजनिक सेवा अवरुद्ध गरेको अभियोगमा मुद्दा चलाइनेछ ।

यो समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: