काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट स्वदेश फर्किएपछि समस्या समाधानमा पहल नलिएको भन्दै विभिन्न सङ्घसंस्थाले उपत्यका बन्द लगायतका विरोध कार्यक्रम सुरु गरेका छन् ।
विरोधका कार्यक्रम अन्तरगत आज विधेयक फिर्ताको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ । हिन्दु धर्मसँग सम्बन्धी सङ्घसंस्थाको आव्हानमा असार १० गते काठमाडौँ उपत्यका बन्द आव्हान भएको छ ।
प्रधानमन्त्री ओली नेपाल फर्किए लगत्तै गुठी विधेयकमा गल्ती भएको भएमा सुधार गर्ने आश्वासन दिएका थिए । तर आन्दोलनकारीको प्रदर्शन जारी रहेको छ । सरकारले आफूहरूका माग नसुनेको भन्दै आन्दोलनकारीले असार १० गते काठमाडौँ उपत्यका बन्द आव्हान गरेका हुन ।
विश्व हिन्दु युवा सङ्घको अन्तर्राष्ट्रिय समितिले सरकारले तत्काल वार्ता र संवादको माध्यमबाट समस्या समाधानमा पहल नलिएकाले चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
आन्दोलनकारीले असार ३ गते पशुपतिनाथ मन्दिरमा विरोध सभा गर्ने, असार ४ गते देशैभर मठमन्दिरमा १० मिनेट घण्टी बजाउने लगायतका कार्यक्रम तय गरेका छन् ।वसन्तपुरमा विरोध सभा, अन्तरक्रिया लगायतका कार्यक्रम गर्दा पनि सरकारले नसुनेमा उपत्यका बन्द आव्हान गरिने समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए ।