कुलमानको उपस्थितिमा माथिल्लो तामाकोशीको ‘पेन स्टक पाइप’ जडान « Nagarik Khabar

कुलमानको उपस्थितिमा माथिल्लो तामाकोशीको ‘पेन स्टक पाइप’ जडान



काठमाडौँ । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेन स्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङ र प्राधिकरणका संचालकद्धय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न सुरु गरिएको हो ।

तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेन स्टक पाइपमा सोमबार अर्को पाइप राखिएको हो । अब त्यसलाई मिलाउने, बिल्डिङ गर्ने र त्यसपछि कंक्रिट भरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान सुरु हुने छ । तल्लो पेन स्टक सफ्टमा ३७२ मिटरमा ७४ वटा पेन स्टक पाइप जडान गर्नु पर्ने छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘पेन स्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने/नगर्ने लगायतका अन्योल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्वक राखिएपछि सबै अन्यौता हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,’उनले भने । ‘पहिलो युनिटबाट ९७६ मेगावाट पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका र्छौ, यसमा केही तलमाथि हुन सक्ला तर आयोजना आर्थिक वर्ष २०७६/७७ भित्रै निर्माण सम्पन्न हुने छ ।’

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन् । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।

घिसिङले क्रेनले ६ मिटर प्रति मिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने बताए । पेन स्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरू र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन् । 

मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: