आपूर्ति मन्त्रालयको खर्च मात्र १ रुपैयाँ बनाउन काँग्रेस सांसदको प्रस्ताव « Nagarik Khabar

आपूर्ति मन्त्रालयको खर्च मात्र १ रुपैयाँ बनाउन काँग्रेस सांसदको प्रस्ताव



काठमाडौँ । नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न  प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमवार विनियोजन विधेयक अन्र्तगतको छलफलमा सहभागी हुँदै उनले आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन् । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको भन्दै उनले बजेटको दुरुपयोग रोक्न माग गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठुला मन्त्रालयहरू मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै उनले औचित्यहीन खर्च घटाउन माग गरेका छन् । उनले भने, “कामदारलाई हेलमेट दिएछ । ज्याकेट लगाइदिएछ । बुट लगाइदिएछ यो गर्मीमा पनि । हातमा काम गर्ने औजार चाही बेल्चा दिएछ । काम के लगाएछ भन्दा मकै गोड्न । यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला ।”

मकै गोड्ने, नाली सफा गर्ने , झार उखेल्ने, सडकको गाई धपाउने , स्कुलका आँगन बढार्ने लगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा आम नेपाली जनताले सरकारलाई कुरी कुरी गरिरहेको दाबी उनले गरेका छन् । उनले भने “म प्रतिपक्षी भएर होइन आम नेपाली जनताले कुरी कुरी गरिरहेका छन् सरकारलाई ।” उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमूलक नभई पर्व र उत्साहको रूपमा मनाइएको आरोप लगाए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक वर्षमा सरकारले ५ लाख बेरोजगारहरूलाई रोजगार उपलब्ध गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: