बिना-महेश विवाद उत्कर्षमा, यस्तो छ कारण « Nagarik Khabar

बिना-महेश विवाद उत्कर्षमा, यस्तो छ कारण



काठमाडौं । खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन्। भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन्। हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो। तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन। काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ। त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ। भट्टराई स्वयंले पनि आफ्नो काज बिदा नवीकरण टुंगो नलागेको स्वीकार गरेका छन्। ‘काज बिदा नवीकरण प्रक्रियामा छ,’ उनले भने, ‘टुंगो लागेको छैन।’

मन्त्रालय नेतृत्व र भट्टराईबीचको द्वन्द्वमा काठमाडौं महानगरपालिका पनि जोडिएको छ। विगत दुई महिनादेखि केयुकेएलको सञ्चालक समितिको अध्यक्ष आफूले पाउनुपर्ने अडान राख्दै महनगरपालिकाले सञ्चालक समितिको बैठकसमेत बहिष्कार गर्दै आएको छ। काठमाडौं महानगरबाट प्रतिनिधित्व गरी सञ्चालक समितिका सदस्य बनेका महेश काफ्ले केयुकेएल सञ्चालक समितिको अध्यक्ष महानगरपालिकाले पाउनुपर्ने दाबी गर्छन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: