किन बन्द भयो हायात होटेल ? « Nagarik Khabar

किन बन्द भयो हायात होटेल ?



काठमाडौँ । सरकारी लगानी समेत रहेको पब्लिक कम्पनी तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडको स्वामित्वमा रहेको काठमाडौँको बौद्धमा रहेको होटेल हायात बन्द भएपछि सयौँ मजदुरको बिचल्ली भएको छ । होटेलमा अहिले झन्डै ४ सय मजदुर कार्यरत छन् ।

व्यवस्थापनले मजदुरको आन्दोलनका कारण होटेल बन्द गर्नु परेको जनाएको छ । नेपाल स्टक एक्सचेन्जमा पठाइएको पत्रमा समेत मजदुर युनियनको आन्दोलनले होटेल बन्द गर्नुपरेको उल्लेख छ ।

विक्रम संवत् २०४९ सालमा राजधानीको बौद्धमा होटेल स्थापनाका लागि तारा गाउँ रिजेन्सी होटल्स लिमिटेड स्थापना गर्ने निर्णय भएको थियो । उक्त कम्पनीका लागि सरकारले प्रतिरोपनी जम्मा १० लाख रुपैयाँका दरले १ सय ५० रोपनी जग्गा भोगाधिकार दिएको थियो । त्यही रकमलाई सेयरमा रूपान्तरण गरिएको थियो । पछि भोगाधिकारको जग्गाको लाजपूर्जा मिलेमतोमा होटेलको नाममा बनाइएको छ । त्यस्तै बाँकी १ सय ५४ रोपनी जग्गा पनि लिजमा दिइएको थियो ।

पहिले ४० प्रतिशत सरकारी स्वामित्वमा सेयर रहेपनि पछिल्लो समय सञ्चालकको चलाखीले सरकारको सेयर जम्मा १० प्रतिशतमा झरेको छ । कम्पनीले प्रयोग गरेको जग्गाका विषयमा अख्तियारमा उजुरी परेपछि अहिले छानबिन भइरहेको छ । विभिन्न शीर्षकमा अनियमितता भएको र सरकारी जग्गा कम्पनीका नाममा मिलेमतोका आधारमा दर्ता भएको भन्दै उजुरी परेको थियो ।

कम्पनीका सञ्चालकले पछिल्लो समय होटेल सञ्चालन नगर्ने मनसायले लगानी थप्ने नाममा विभिन्न क्रियाकलाप गरिरहेका थिए । उनीहरूलाई आधिकारिक ट्रेड युनियन अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुराँ मजदुर सङ्घले गरेको आन्दोलनले बल पुग्यो ।

अन्ततः व्यवस्थापनले अहिलेलाई होटेल बन्द भएको निर्णय गरेको छ । युनियनले यसअघिको सहमति कार्यान्वयनका लागि दबाब दिएर पाँच दिनदेखि आन्दोलन थालेको थियो । व्यवस्थापनले होटेल बन्द गर्ने निर्णय गरेपछि आज मजदुरहरू आन्दोलन र कानुनी प्रक्रियाका विषयमा छलफलमा जुटेका छन् ।

व्यवस्थापनको निर्णयसँगै सेयर परिसूचक नेप्सेमा तारा गाउँ रिजेन्सी होटेल लिमिटेडको सेयर मूल्य गिरावट आएको छ । टिआरएस सिम्बोलको सेयर सुरुवातमै झन्डै ७ प्रतिशतका दरले कमजोर बन्यो ।

सरकारी स्वामित्वको जग्गा र सरकारलाई दिनुपर्ने रकम समेत भौतिक संरचना निर्माणका नाममा खर्च गरेको आरोप लागेपछि व्यवस्थापन पक्षले आफ्नो फाइदाका लागि होटेल बन्द गरेको त्यहाँ कार्यरत मजदुर नेताहरूको दाबी छ ।

 

अन्तत: बन्द भयो हायात होटल

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: