समता अस्पतालभित्रै कर्मचारी झुन्डिएको अवस्थामा, आफन्तको आक्रोसले अस्पतालमा तनाव (भिडियो) « Nagarik Khabar

समता अस्पतालभित्रै कर्मचारी झुन्डिएको अवस्थामा, आफन्तको आक्रोसले अस्पतालमा तनाव (भिडियो)



काठमाडौं । काठमाडौंको बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन् । रामेछाप दोरम्बा गाउँपालिका दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

तामाङ सोमबारदेखि हराएपछि आफन्तले खोजी गर्ने क्रममा मंगलबार अस्पतालको कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको हो ।

अस्पतालकी कर्मचारी (क्लिनर) का रुपमा कार्यरततामाङको शव अस्पतालमा झुण्डिएको अवस्थामा भेटिएपछि घटना रहस्यमय भएको भन्दै आफन्तले आन्दोलन गरेका छन् ।

मृतक तामाङ अस्पतालमा दुई महिनादेखि क्लिनरको रुपमा काम गर्दै आएको उनका देवर सिंग योञ्जनले जानकारी दिए । उनका अनुसार अस्पतालका कर्मचारीले सोमबार विमला काम गर्न नआएको जानकारी गराएको थियो ।

‘मंगलबार बिहान अस्पतालको भुइ तलामा भाउजुको शव भटियो । हामी छक्क पर्यौ, हिजो मात्रै अस्पतालले भाउजु काम गर्न नआएको जानकारी गराएको थियो । तर, बाहिरबाट चाबी लगाएको अस्पतालको कोठामा शव भेटियो,’ उनले नागरिक खबरलाई भने, ‘यो घटना रहस्यमय छ । सामान्य मान्छे कसरी झुन्डिएर मर्छ । यो हत्या नै हो ।’

उनका अनुसार अस्पतालको कर्मचारीले आफ्नो मान्छे नियुक्ति गर्नुपर्ने ठाउँमा तामाङलाई नियुक्ति गरेको भन्दै टर्चर दिने गरको आफन्तहरुको भनाइ छ । मृतक तामाङको आठ वर्षीय छोरा छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र पन्थीले अस्पतालको शौचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा फेला परेको बताए । उनका अनुसार सलको पासो बनाएर झुन्डिएको फेला परेको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

आफन्तद्धारा आन्दोलन
अस्पतालभित्रै बिमला तामाङको शव झुन्डिएको अवस्थामा भेटिएपछि उनका आफन्तले आन्दोलन गरेका छन् । आफन्तले तामाङलाई नियोजित रुपमा हत्या गरेको भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरुले हत्याको निष्पक्ष छानविन नभएसम्म शव नउठाउने बताएका छन् । तामाङको आफन्तहरु अस्पतालमा भेला भएपछि प्रहरीले अस्पताललाई सुरक्षा दिइरहेको छ ।

मृतककी देवर सिंह योञ्जनले अस्पतालले भन्दा पनि अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा भाउजुको हत्या गरिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: