‘प्रतिपक्षको मुख थुन्ने काम गरिए सडकमा पोखिन्छ’ (भिडियोसहित) « Nagarik Khabar

‘प्रतिपक्षको मुख थुन्ने काम गरिए सडकमा पोखिन्छ’ (भिडियोसहित)



काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पाण्डेले सदनमा प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने बताए ।

सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्माले प्रतिपक्षी दलले संसदीय मर्यादाविपरीत प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको बताएपछि नेता पाण्डेले प्रतिपक्षी दलको मुख थुन्ने प्रयत्न नगर्न चेतावनी दिएका हुन् ।

‘प्रतिनिधिसभामा प्रधानमन्त्रीले मात्रै बोल्न पाउने अनि प्रतिपक्षी दलले बोल्न नपाउने ?’ उनले भने, ‘प्रतिपक्षीलाई सदनभित्र पनि मुख थुन्ने प्रयास गरिँदै छ ।’

उनले आवाज सदनमा दबाउने काम भयो भने सडकमा पोखिन्छ भन्ने याद गर्न सचेत गरे । संसदीय मूल्यमान्यताबारे कसैले कांग्रेसलाई सिकाउनु नपर्ने भन्दै उनले भने, ‘हामीले आजसम्म माइक उचालेका छैनौं, कुर्सी भाँचेका छैनौं, अर्थमन्त्रीको ब्रिफकेस फोडेका छैनौं ।’

सरकारले संविधान विपरीत ल्याएका विधेयकविरुद्ध जनता सडकमा ओर्लिएको र टोलटोलमा सरकारको विरोधमा प्रदर्शन भइरहेको भन्दै उनले सरकारलाई संयमित भएर संविधान अध्ययन गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: