हुम्लामा जिप दुर्घटना अपडेट: नदी पसेको गोताखोर टोली सिसाका टुक्रासहित फिर्ता « Nagarik Khabar

हुम्लामा जिप दुर्घटना अपडेट: नदी पसेको गोताखोर टोली सिसाका टुक्रासहित फिर्ता



हुम्ला । हुम्लाको खार्पूनाथ गाउँपालिका-५ मा मङ्गलवार दिउँसो भएको जिप दुर्घटनामा बेपत्ता खार्पूनाथ गाउँपालिकाका उपाध्यक्ष सहित ९ जनाको खोजीका लागि नदी पसेका गोताखोर फर्किएका छन् । नेपाली सेनाका गोताखोर नदीको पानी धमिलो भएपछि उद्धारबाट फर्किएका हुन् ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जिपको खोजीका लागि पुगेको गोताखोरको टोलीले नदी किनारबाट प्रिन्टर र जिपका सिसाका टुक्रा मात्र फेला पारेको जानकारी दिए ।

प्रहरीले रातको समयमा पनि नदी किनारको क्षेत्रमा खोजी जारी रहने जनाएको छ । कर्णाली नदी क्षेत्रको तल्लो तटीय क्षेत्रमा समेत खोजीका लागि जनशक्ति परिचालन गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले विशेष गोताखोर पठाइदिन आग्रह गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको छ ।

प्रहरीका अनुसार लु १ ज ७१६६ नम्बरको जिप दुर्घटनामा खार्पूनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडी चालक मणिजंग शाही, ढुक्कु भण्डारी भनिने नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, कैडा परियार र उनका २ वर्षीय छोरा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अरू केही बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनाको खबर लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए । उद्धारका लागि चार वटा हेलिकप्टरको प्रयोग गरिएको थियो । दिउँसोपछि नदीको पानी धमिलो भएकाले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ । जिप सहितका यात्रु बेपत्ता भएपछि सयौँको सङ्ख्यामा स्थानीय घटनास्थलमा पुगेका छन् ।

यो पनि पढ्नुहोस्

जिप दुर्घटना अपडेट : बेपत्ता हुने नौ जनाको पहिचान

अपडेट : जिप दुर्घटनास्थलमा प्रिन्टर मात्र भेटियो, बेपत्ता ५ जनाको नाम खुल्यो

अपडेट : कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित केही बेपत्ता

BREAKING : हुम्लाको खार्पुनाथ गाउँपालिकामा जनप्रतिनिधि चढेको जिप दुर्घटना

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: