कांग्रेसको ६ बुँदे टिप्पणी : सभामुख लाचार छायाँ, प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक « Nagarik Khabar

कांग्रेसको ६ बुँदे टिप्पणी : सभामुख लाचार छायाँ, प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनपश्चात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६ बुँदे प्रतिक्रिया दिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आफूले बोल्न लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बेलुकी ५ बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

सोही सम्मेलनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तप्रति लक्षित गर्दै त्यसको केही समयपछि कांग्रेसले ६ बुँदे विज्ञप्ति प्रकाशित गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यत्तिप्रति आपत्ती जनाइएको छ ।

विज्ञप्तिको पहिलो बुँदामै सभामुख कृष्णबहादुर महरा प्रधानमन्त्रीको लाचार छायाँ भनेको उल्लेख गर्दै विधेयकविरुद्धको अभिव्यक्तिलाई प्रधानमन्त्रीले लोकतन्त्रविरोधीको सँज्ञा दिनु आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

 

यस्तो छ कांग्रेसको प्रेस विज्ञप्ति :

संसदको घटना, प्रधानमन्त्रीको अभिव्यक्ति र विधेयकहरुबारे प्रेस विज्ञप्ति
असार ३, २०७६

१. प्रतिनिधिसभाका सम्माननीय सभामुखबाट फेरि पनि ‘प्रधानमन्त्रीको लाचार छायाँ’ को भूमिकामा आज प्रस्तुत हुनु अत्यन्तै दुःखद त छ नै सम्माननीय प्रधानमन्त्रीबाट पत्रकार सम्मेलनमार्फत कतिपय विधेयकविरुद्धको सडकका आवाजहरुलाई ‘लोकतन्त्र विरोधी’ को संज्ञा दिनु झनै आपत्तिजनक छ ।

२. केही समय यता संसद र सडकमा सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सिललगायतका विधेयकहरुविरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नु पूर्व प्रतिपक्षी नेताले ती विषयहरु उपर आम नागरिकको भावना राख्न चाहनु विल्कुलै स्वभाविक थियो । विधेयकहरुकाविरुद्ध देशव्यापी रुपमा भइरहेका विरोधका स्वरहरुलाई विधिवत रुपले प्रतिपक्षी नेताले संसदमा प्रविष्ट गराएपछि प्रधानमन्त्रीले त्यस उपर आवश्यक सम्बोधन गर्ने कुरा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक कुरा हुन्थ्यो ।

३. तर त्यस ढंगले सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्ने प्रपञ्च गर्दा संसदमा द्वन्द्व हुनु स्वभाविक थियो । विपक्षी स्वरलाई म सुन्न चाहन्छु भन्ने लोकतान्त्रिक व्यवहार न त प्रधानमन्त्रीबाट प्रस्तुत भयो न त ‘सरकार बहुमतको संसद प्रतिपक्षको’ भन्ने मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन सक्यो । प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणाममा आजको घटना भयो ।

४. पत्रकार सम्मेलनमार्फत् विधेयकहरुविरुद्धको आवाज र प्रदर्शनहरुलाई प्रधानमन्त्रीले ‘लोकतन्त्र र विकास विरोधी’ संज्ञा दिनु घोर आपत्तिजनक छ । हिजो निर्वाचनमा मत दिईरहँदा तिनै नागरिक ‘महान’ आज विरोधमा उभिँदा लोकतन्त्र विरोधी ? नेपाली कांग्रेस उहाँलाई स्मरण गराउन चाहन्छ सडकमा प्रस्तुत विरोधको आवाज होइन गुठीको विधेयक चाहिँ लोकतन्त्र, परम्परा र संस्कृतिको विरुद्धमा छ । मिडिया काउन्सिललगायतका पछिल्ला विधेयकहरु संविधानको भावना प्रतिकूलमा छन् र लोकतान्त्रिक मूल्य एवं जनभावना विरुद्धमा छन् ।

५. गुठी विधेयक फिर्ता लिएको घोषणा गरिए पनि आम जनसमुदायको खबरदारी जारी रहनु पर्ने किन देखिन्छ भने सरकारले विधेयक भित्रको गल्ती स्वीकारेको भन्दा ‘नागरिकमा भ्रम सिर्जना गरिएको र वातावरण विथोल्ने प्रयास गरिएको’ आरोप लगाउँदै सो विधेयक फिर्ता लिइएको वक्तव्य जारी गरेको छ ।

६. गुठी, मिडिया काउन्सील, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग, विश्वविद्यालय, सामुदायिक वन लगायतका प्रस्तावित सबै विधेयकहरु सारमा अधिनायकवाद उन्मुख आकांक्षालाई पृष्ठपोषण गर्ने मनस्थितिको जगमा कोरिएका छन् । कम्युनिष्ट दर्शनको शास्त्रीय हठबाट होइन नेपालको वर्तमान संविधानको लोकतान्त्रिक चेतबाट अगाडिको बाटो तय गर्न नेपाली कांग्रेस सरकारलाई सजग गराउन चाहन्छ ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: