लोकसेवा विज्ञापनबिरुद्ध मुस्लिम संघद्वारा कडा आन्दोलनको चेतावनी « Nagarik Khabar

लोकसेवा विज्ञापनबिरुद्ध मुस्लिम संघद्वारा कडा आन्दोलनको चेतावनी



काठमाडौं । नेपाल मुस्लिम संघले संविधानले नै सुनिश्चित गरेको समानुपातिक समाबेशी सिद्धान्त बिपरित लोकसेवा आयोगको बिज्ञापन प्रकाशित गरेकोमा आपत्ति जनाउँदै मुस्लिम लगायतका समुदायको आरक्षण सुरक्षित गर्न माग गरेको छ।

पछिल्लो समय लोकसेवा आयोगले प्रकाशित गरेको ९ हजार कर्मचारीको बिज्ञापनमा समाबेशी सिद्धान्तलाई पूरै बेवास्ता गर्नुले सरकारको नियतमा खोट देखिएको मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारले बताए। अध्यक्ष सत्तारले समाबेशी सिद्धान्त अनुसार आरक्षणको व्यबस्था नगरी अहिलेकै बिज्ञापन अनुसार परीक्षा प्रकृया अघि बढाए आन्दोलन गर्ने चेतावनी दिए।

संबिधान प्रदत्त हक अधिकारको रक्षाका लागि मुस्लिम समुदायहरु एक पटक पुनः आन्दोलनमा उत्रनुको बिकल्प नभएको भन्दै उनले मुस्लिम अगुवा, बुद्धिजीवी, विद्यार्थी लगायतसंग सामुहिक छलफल गरी आन्दोलनका कार्यक्रम अघि बढाउने बताए।

नेपालको अन्तरिम संबिधान २०६३ ले महिला, दलित, जनजाति लगायतलाई आरक्षणको व्यबस्था गरेपछि मधेश, मुस्लिम र थारुले आफ्नो पहिचान गुम्ने खतरा देखेर आन्दोलन गरेका थिए। जसको परिणाम संबिधान संशोधन गरेर मुस्लिम, थारु र खस आर्यलाई आरक्षणको सुनिश्चतता गरिएको थियो। अन्तरिम संबिधानमा मुस्लिमलाई मधेशी क्लष्टरमा राखिएको थियो। आन्दोलनको उपलब्धी स्वरुप नेपालको संबिधान २०७२ मा मुस्लिम लगायतका बिभिन्न आठवटा क्लष्टरलाई समाबेशीको सूचीमा राखिएको छ।

संबिधानमै उल्लेख गरिएको बिषयलाई बेवास्ता गर्दै मुस्लिमहरु भनेका मधेशी नै हुन् भन्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अभिब्यक्ति खेदजनक भएको अध्यक्ष सत्तारले उल्लेख गरे। उनले कर्मचारीतन्त्रमा आफ्नो पकड कायम राख्न मन्त्रीले संबिधानको मर्म बिपरित काम गरेको आरोप लगाए।

पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक, प्रधानमन्त्रीको एकल निर्णयमा सेना परिचानल गर्ने र लोकसेवा आयोगको बिज्ञापन जस्ता संबिधानको भाबना बिपरितका कदमबाट सरकार एकतन्त्रीय शासनतिर अग्रसर भएको स्पष्ट हुन्छ भन्दै मुस्लिम संघका अध्यक्ष सत्तारले लोकतन्त्र बिरोधी यस्ता क्रियाकलाप तत्काल सच्याउन सरकारलाई खबरदारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: