अफगानिस्तानको दोस्रो चरण सम्भावना कमजोर, इङ्ल्यान्डसँग १५० रनले पराजित « Nagarik Khabar

अफगानिस्तानको दोस्रो चरण सम्भावना कमजोर, इङ्ल्यान्डसँग १५० रनले पराजित



लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आयोजक इङ्ल्यान्डविरुद्धको खेलमा अफगानिस्तान एकसय ५० रनको भारी अन्तरले पराजित भएको छ । यो पराजयसँगै अफगानिस्तानको दोस्रो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । प्रतियोगितामा पाँच खेल खेलिसक्दा अफगानिस्तान अझै अंकविहीन छ । अफगानिस्तानलाई पराजित गरेको इङ्ल्यान्ड भने अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

वल्ड ट्राफोर्ड म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीनसय ९७ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुईसय ४७ रन मात्रै जोड्न सक्यो ।

इङ्ल्यान्डका लागि कप्तान इयोन मोर्गानले ७१ बलमै एकसय ४८ रनको शतकीय योगदान दिएका थिए । उनले आफ्नो पालीमा १७ छक्का र चार चौका प्रहार गरेका थिए । उनीबाहेक जोनी बेयरस्टले ९० र जोई रुटले ८८ रनको योगदान दिएका थिए ।

टोलीका लागि रुट र बेयरस्टले दोस्रो विकेटका लागि एकसय २० तथा रुट र मोर्गानले तेस्रो विकेटका लागि एकसय ८९ रनको साझेदारी गरेका थिए । मोइन अली नौं बलमा ३१ रन जोड्दै अविजित रहे ।

अफगानिस्तानका लागि भने हस्मतुल्लाह सहिदीले ७६ रन जोड्नबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । सहिदीले आफ्नो पालीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । रहमत शाहले ४६, अस्घर अफ्गानले ४४ र कप्तान गुल्बदिन नइबले ३७ रन जोडेका थिए ।

अफगानिस्तानलाई सस्तो योगफलमा समेट्न जोफ्रा आर्चर र अदिल रशिदले तीन/तीन विकेट लिए । मार्क उडले दुई विकेट लिए । अफगानिस्तानका दउलत जद्रान र गुल्बदिन नइबले तीन/तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: