काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख संग समय लिएर बोल्दै संसदीय दलका नेता शेर बहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताउनुभएको हो । उहाँले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “ प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् । ”
उहाँले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहि उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहा ठिक उल्टा । जवरस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेशी हुन्छ ? बल मिच्याई चल्दैन यो । हामी कुनै हालतमा मान्यवाला छैनौ ?
कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उहाँले आफुहरुले बोल्नका लागि मात्रै समय मागरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “शेर बहादुरले माग्यो मैले दिनुपर्ने भन्ने । मैले माग्दैमा डराईहाल्नुपर्ने । मैले त अरु पनि मागेको छु । ”
उहाँले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरको भन्दै आपत्ती जनाउनुभयो ।
उहाँले भन्नुभयो “संसद चलेको बेला संसदमा दर्ता भएको विधेयक बाहिर फिर्ता लिन मिल्छ कहाँको संसदीय परम्परा हो ? संसदबाट फिर्ता लिनुपर्छ । ”
उहाँले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक , मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिनुभएको छ ।
उहाँले प्रधानमन्त्रीको विदेश भ्रमण असफल भएको दाबी समेत गर्नुभयो ।