माइतीघरमा विशाल प्रदर्शन: बालुवाटारमा ओली-प्रचण्ड संवाद « Nagarik Khabar

माइतीघरमा विशाल प्रदर्शन: बालुवाटारमा ओली-प्रचण्ड संवाद



काठमाडौँ । वर्तमान सरकार विरुद्ध काठमाडौँका माइतीघर मण्डला र नयाँ बानेश्वरमा विशाल प्रदर्शन भएका बेला अहिले प्रधानमन्त्री समेत अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री युरोपबाट फर्किएपछि दुई अध्यक्षबीच औपचारिक रूपमा भेटवार्ता भएको हो । भेटमा गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, लोक सेवा आयोगको विज्ञापन लगायतका विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

ओलीसँग प्रचण्डले आन्दोलनकारीका माग सम्बोधन गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । प्रचण्डले गुठी विधेयक, मिडिया काउन्सिल विधेयक र लोक सेवा आयोगको विज्ञापनको विरोधमा सार्वजनिक रूपमै आफ्ना धारणा राखेका छन् । ओलीले भने विवादित विधेयकका विषयमा बचाऊ गरिरहेका छन् । मङ्गलवारको सम्बोधनमा पनि ओलीले आन्दोलन गर्न आवश्यक नरहेको भन्दै सरकारको अडान प्रस्तुत गरेका थिए । तर हिजो नै सरकारले गुठी विधेयक फिर्ता गरेको थियो ।

दुई अध्यक्षबीचको भेटमा आज पार्टी एकताका बाँकी विषय, राजनीतिक मार्ग दर्शन र विगतमा भएको सहमतिका विषयमा समेत छलफल हुने स्रोतको दाबी छ । पछिल्लो समय प्रचण्डले विगतमा भएको सहमति कार्यान्वयनका लागि ओली माथि दबाब बढाएका छन् । जिम्मेवारी बाँडफाँटमा कुरा नमिलेपछि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: