सरकारको काम कारवाहीप्रति सत्तारुढ दलका सांसदकै असन्तुष्टि « Nagarik Khabar

सरकारको काम कारवाहीप्रति सत्तारुढ दलका सांसदकै असन्तुष्टि



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले सरकारले विकास, निर्माणको कामलाई अघि बढाउने गरी आवश्यक वातावरण मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा नेकपाका सांसदद्वय टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले सरकारले विकास निर्माणको कामलाई अघि बढाउने गरी निर्माण सामग्रीको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । सांसद चौधरीले गिटी, ढुंगा र बालुवा ज्येष्ठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुपै्र विकास, निर्माणको कामहरु अलपत्र परेको भन्दै सरकारको आलोचना गरे ।

असारमा पनि गिटी, ढुंगा र बालुवा झिक्न पाउने व्यवस्था सरकारले नमिलाएकै कारण असारमा गर्नुपर्ने विकास, निर्माणको कामले गति लिन नसकेको सांसदको भनाइ छ ।

नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोहीअनुसारको वातावरण बनाउन सरकारसँग माग गरे । उनले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरुबाट असारमा पनि निकाल्न मिल्ने गरी कानुनी व्यवस्था गर्न ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गरे । असारमा गिटी, बालुवा र ढुंगा निकाल्न नपाउने कानुनी व्यवस्थाले ठूलो आयोजनाहरुको काम अघि बढ्न नसकेको उनको दाबी छ ।

समितिकी सभापति कल्याणी खड्काले विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारलाई सचेत गराइन् । उनले क्षमतानै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाई हुने गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई निर्देशन दिइन् ।

संघीय संसदको विकास तथा प्रविधि समितिले विकास, निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: