ओली-प्रचण्ड भेटवार्ताको निष्कर्ष: शुक्रवार नेकपाको सचिवालय बैठक « Nagarik Khabar

ओली-प्रचण्ड भेटवार्ताको निष्कर्ष: शुक्रवार नेकपाको सचिवालय बैठक



काठमाडौं । वर्तमान सरकारले ल्याएका विभिन्न विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनकै समयमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन्डै साढे दुई घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच एक्ला(एक्लै भेटवार्ता भएको हो ।

पार्टीको सैद्धान्तिक कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन तल्लोसम्म पठाउने सहमति दुई अध्यक्षबीच भएको छ । त्यस्तै पार्टी एकताका बाँकी काम पुरा गर्नका लागि पर्सि शुक्रवार सचिवालय बैठक बस्ने भएको छ । पार्टीको सैद्धान्तिक कार्यदिशा के हुने भन्ने विवाद बढ्न थालेपछि आजको बैठकमा प्रचण्डले विगतको सहमति अनुसार आधिकारिक दस्तावेज तल्लो तहसम्म पठाउन प्रस्ताव गरेका थिए ।  

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष प्रचण्डले सरकारले ल्याएका विभिन्न विधेयक सच्याउन आग्रह गरेका छन् । प्रधानमन्त्री युरोपबाट फर्किएपछि दुई अध्यक्षबीच औपचारिक रूपमा पहिलो पटक भेटवार्ता भएको हो । भेटमा गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, लोक सेवा आयोगको विज्ञापन लगायतका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

ओलीसँग प्रचण्डले आन्दोलनकारीका माग सम्बोधन गरेर अगाडि बढ्नु पर्ने मत राखेका छन् । पछिल्लो समय प्रचण्डले विगतमा भएको सहमति कार्यान्वयनका लागि ओली माथि दबाब बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: