‘मधेशका नागरिकले अपनत्व खोज्दा सरकार विकास बाँडिरहेको छ’ (भिडियोसहित) « Nagarik Khabar

‘मधेशका नागरिकले अपनत्व खोज्दा सरकार विकास बाँडिरहेको छ’ (भिडियोसहित)



पत्रकार तथा राजनीतिक विश्लेषक डा. राजेश अहिराज सरकारले नागरिकको भावनालाई बेवास्ता गरेको बताउँछन् । ‘मधेसले अपनत्व खोजिरहेको छ, सरकारले विकास दिइरहेको छ,’ सरकारले गरेको व्यवहारलाई उनले यसरी खोतले, ‘अपनत्वविनाको विकास सम्भव हुँदैन ।’ अहिराजका अनुसार मधेसले समभाव खोजिरहेका बेला सरकारले बजेट दिइराखेको छ । समभावबिनाको बजेटको कुनै अर्थ नहुने उनको बुझाइ छ ।

सरकारको यो व्यवहारले आगामी दिनमा मधेसमा कांग्रेसको उपस्थिति मजबुत हुँदै जाने डा. अहिराज बताउँछन् । उनका अनुसार मधेसमा कांग्रेको उपस्थिति मजबुत हुने कारणमध्ये सरकारको व्यवहार पनि एक हो ।

समाजवादी पार्टीको एकता तत्कालीन बन्धन

डा. अहिराजको बुझाइमा मधेश आन्दोलनबाट शक्तिमा आएको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकता ‘राजनीतिक’ होइन । राजनीतिक पार्टीलाई नेतृत्व गर्ने पात्रहरुको धार, धारणा र धरातल स्पष्ट नभएसम्म हुने कुनै पनि प्रकारका कर्महरु राजनीतिक नहुने उनको दाबी छ ।

उनले भने, ‘जब पात्रहरुको धार, धारणा र धरातल यी तीन वटा कुरा प्रष्ट हुँदैन भने ती पात्रले गरेका कर्मलाई राजनीतिक भन्न मिल्दैन ।’ समाजवादी पार्टीका दुई मुख्य नेताहरुको भिन्न पृष्ठभूमिका कारण पनि दुई पार्टीको एकता राजनीतिक नभएको उनको जिकिर छ ।

‘दुवै जना (डा. बाबुराम भट्टराई र उपेन्द्र यादव)को पृष्ठभूमि हेर्नुभयो भने एकजनाले संविधान जारी गर्ने, अर्काेले संविधान ठीक छैन भन्ने, एकजनाले यो सरकार ठिक हुँदै होइन भन्ने अर्काे त्यही सरकारमा उपप्रधानमन्त्रीको कुर्सी छोड्दै छोड्दिन भन्ने,’ उनले प्रष्ट्याउँदै भने, ‘यी दुई फरक–फरक धार, सोच, आवरण, पृष्ठभूमि, चरित्र भएका पात्रहरुको मिलन राजनीतिका लागि गरिएको मिलन होइन ।’

पार्टीको नाम समाजवादी राख्दैमा त्यसले समाजवादी गन्तव्य तय गर्छ भन्न नसकिने उनले बताए । उनले भने, ‘जुन दिनदेखि पार्टी गठन भयो, त्यो दिनदेखि समाजवादी दलका नेता, मन्त्रीका अभिव्यक्ति, कार्यशैली, राजनीतिक उछृंखलताहरु यति धेरै आइरहेको छ कि नाम र कामससँग कही तालमेल देखिँदैन ।’

अस्पष्ट राजपा

राष्ट्रिय जनता पार्टी मुद्दाका हिसाबले मधेसका जनतासँग तुलनात्मक रुपमा अन्य दलभन्दा नजिक रहेको अहिराजको बुझाइ छ । यद्यपि, राजपाले संगठन निर्माण गर्न नसकेको उनले बताए । उनी भन्छन्, ‘राजपा मधेस पक्षीय छु भनेर दाबी त गर्छ तर कस्तो खालको भूमिका भइदिए देशले स्वीकार्थ्यो भन्ने प्रष्टता छैन ।’

यही अस्पष्टताका कारण राजपालाई मधेशबाहेकका क्षेत्रका नागरिकको उसलाई ‘मधेशवादी’ दलको रुपमा लिएको डा. अहिराजको बुझाइ छ । ‘देशका अरु समुदायका मानिसहरु मधेसविरोधी होइनन्,’ उनल् भने, ‘तर, मधेसलाई कुनै कुरा चाहियो भने त्यो कुरा किन चाहियो भन्ने बुझाउन सक्नुपर्छ । जुन राजपाले सकिरहेको छैन ।’

समस्या सर्वत्र छ

डा. अहिराज मधेसमा मात्रै विभेद भएको र मेधेसी मात्रै पछाडि पारिएको भन्ने तर्कसँग असहमत छैनन् । ‘विभेद कहाँ छैन ? कीर्तिपुरमा छैन ? भक्तपुरमा छैन ?’ उनले भने, ‘विभेदका प्रक्रिया, विकासका प्रक्रिया फरक हुन्छन् । सिंहदरबारले ७७ जिल्लामध्ये कुनैलाई पनि राम्रारी हेरेको छैन ।’

उनी मधेसमा गरिबी, अभाव, बेरोजगारीलगायतका समस्या रहेको स्वीकार्छन् । तर, पहाड र हिमालमा त्यो छैन भन्ने स्वीकार्दैनन् । उनी भन्छन्, ‘त्यही भएर एउटा नेताले खेल्ने भूमिका ७७ जिल्लाकै आम नागरिकले स्वीकार्न सक्ने हुनुपर्छ ।’

आफूहरुले उठाएको मुद्दा निश्चित समुदाय र क्षेत्रभन्दा सबैले स्वीकार्ने बनाउन नेताहरु सजग हुनुपर्दछ । किसानका समस्या देखाउँदै उनले भने, ‘भक्तपुरका किसानहरु अहिले पनि पाँच किलो साग बेच्न २० किलोको खर्पन बोक्नुपर्ने बाध्यतामा छन् ।’

सिके राउत चिन्ता होइन

डा. सिके राउत समूह आत्मसमर्पणवादी राजनीतिमा गइसकेको डा. अहिराजको टिप्पणी छ । राउतको उक्त कदमपछि उनी मधेशमा चासो र चिन्ताको विषय नभएको अहिराजको बुझाइ छ । ‘जुन धारमा रहेका कारण सिके राउत चर्चा र चिन्ताको विषय थिए,’ उनले भने, ‘अब धार परिवर्तन गरिसकेपछि त्यो रहेन ।’

उनका अनुसार सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौतामा कहीँ पनि मधेसबारे उल्लेख छैन । ‘सिके राउतजीले गर्नुभएको ११ बुँदे सम्झौता तपाई अक्षरस पढ्नुस् त्यहाँ कहीँ मधेस पाउनुहुन्न,’ उनले भने, ‘त्यसमा सिके राउतजीको पार्टी, उनका कार्यकर्ता, उनका पम्प्लेट, उनको राजनीतिक स्वतन्त्रता र संविधानको पालनलगायतका विषयहरु छन् ।’ राउले विगतमा उठाउँदै आएका मुद्दा सहमतिका बुँदामा उल्लेख नहुनु मधेसलाई धोका दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: