बाग्लुङमा व्यवसायिक खरायोपालन « Nagarik Khabar

बाग्लुङमा व्यवसायिक खरायोपालन



बाग्लुङ । बाग्लुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यवसायिकरुपमा खरायोपालन सुरु गरेका छन् ।

शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको रांखानीबाट ल्याएका हुन् । ‘दुई वटाबाट सुरु गरेको खरायोपालन अहिले २५ वटा पुयाएको छु,’ शर्माले भने ।

व्यवसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको संख्यामा वृद्धि गर्ने योजना रहेको सुनाए । ‘हालसम्म तीन जोर खरायो बेचेँ,’ उनले भने, ‘अब भने एक सय पुर्याएर मात्र बेच्ने योजना छ ।’ खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन ।

हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोर खरायोलाई एक हजार पर्छ । ‘एक सय पुर्याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु,’ शर्माले भने ।

अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताए ।

करीब पाँच–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । फेरी त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ । त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ ।

खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ । खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: