टुंगिएन लोक सेवा विवाद, सबै निवेदन पेश गर्न सर्वोच्चको निर्देशन « Nagarik Khabar

टुंगिएन लोक सेवा विवाद, सबै निवेदन पेश गर्न सर्वोच्चको निर्देशन



काठमाडौं । स्थानीय तहमा पदपूर्ति सम्बन्धी लोक सेवा आयोगको विज्ञापन विवादलाई सर्वोच्च अदालतले आज (बुधबार) पनि टुंगो लगाउन सकेन । लोक सेवाको विज्ञापनको पक्ष र विपक्षमा परेका सबै रिट निवेदनलाई एक साथ पेश गर्न सर्वोच्चले आज (बुधबार) निर्देशन दिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले सर्र्वोच्चको विज्ञापन सम्बन्धी सबै रिट निवेदनका फाइल एक साथ पेश गर्न आदेश दिएको हो ।

स्थानीय तहमा कर्मचारी भर्नका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै सडकदेखि संसदसम्म विरोध भईरहँदा अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।
त्यसपछि सर्वोच्चमा विभिन्न रिट परेका छन् ।

लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को रिट परेको छ । संसद्को राज्य व्यवस्था समितिले संवैधानिक अंगलाई विज्ञापन नै रद्द गर भन्न नमिल्ने जिकिर गर्दै अर्को रिट परेको छ ।

‘सर्वोच्चको विज्ञापन सम्बन्धी चार वटा रिट परेका छन् । त्यसमध्ये तीन वटामा छलफल भएका छन्, एउटा रिटमा छलफल हुन बाँकी छ’, सर्वोच्च स्रोतले भन्यो, ‘आज छलफल भईसकेका तीनवटा र छलफल हुन बाँकी रहेका एउटा गरी चार वटै निवेदनलाई एक साथ पेश गर्न निर्देशन भएको छ ।’

लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: