हुम्ला । हुम्लाको खार्पूनाथ गाउँपालिकामा हिजो मङ्गलवार भएको जिप दुर्घटना सिकारुले चलाएका कारण भएको स्थानीयले बताएका छन् । लु १ ज ७१६६ नम्बरको जिप चालकले नचलाएर सिकारुले चलाएका कारण कर्णाली नदीमा खसेको स्थानीयले बताएका छन् ।
खार्पूदोभानबाट गाउँपालिका केन्द्र याङ्चुका लागि छुटेको जिप सिकारुले चलाएका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्सी तुल्या कामीले बताएका छन् । उनका अनुसार जिप चालक मणि शाहीले आफ्नो आडमै राखेर सिकारु चन्द्र हमाललाई जिप चलाउन दिएका थिए । शाही र हमालको नाता सम्बन्ध भिनाजु-सालाको भएको स्थानीयले बताएका छन् । हमाल गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालका सहोदर भाइ हुन ।
स्थानीय तुल्या कामीले आफूले एउटै सिटमा बसेपनि जिप हमालले चलाएको देखेको बताएका छन् । प्रहरीले गाउँपालिका उपाध्यक्षका सहोदर भाइ भएकाले चालकले पनि गाडी चलाउन दिएको अनुमान गरेको छ ।
यसैबिच बुधवार दिउँसो पुगेको गोताखोरको टोलीले दिनभर खोजी गरे पनि केही पत्ता लगाउन सकेको छैन । घटनास्थल र आसपासको क्षेत्रमा खोजी भए पनि केही फेला नपरेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
हुम्लामा जिप दुर्घटना अपडेट: गाउँपालिका उपाध्यक्षको झोला फेला पर्यो
हुम्लामा जिप दुर्घटना अपडेट: गोताखोर टोली हेलिकप्टरबाट घटनास्थल पुग्दै
जिप दुर्घटना अपडेट : बेपत्ता हुने नौ जनाको पहिचान
अपडेट : जिप दुर्घटनास्थलमा प्रिन्टर मात्र भेटियो, बेपत्ता ५ जनाको नाम खुल्यो
अपडेट : कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित केही बेपत्ता