सगरमाथा जाने पर्यटकबाट दुई हजार लिन नपाउने « Nagarik Khabar

सगरमाथा जाने पर्यटकबाट दुई हजार लिन नपाउने



काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटकबाट उठाइरहेको प्रवेश शुल्क खारेज भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निश्चित भौगोलिक सीमानामा प्रवेश गरेकै कारण कुनै पनि स्थानीय सरकारले शुल्करदस्तुर लिन नमिल्ने निर्णय गरेसँगै यो शुल्क खारेज भएको हो ।

सगरमाथा क्षेत्रमा पर्वतारोहण तथा आधार शिविरसम्म जाने पर्यटकबाट खुम्बु गाउँपालिकाले प्रति पर्यटक २ हजार प्रवेश शुल्क उठाइरहेको थियो ।

खुम्बु गाउँपालिकाले अक्टोवर २०१६ देखि पर्यटकबाट २ हजार रुपैयाँ शुल्क उठाउन शुरु गरेको हो । गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकबाट पैसा उठाए पनि हिसाव नराखेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरी सम्बन्धमा गत चैत १० मा अख्तियारले पर्यटकबाट प्रवेश शुल्क उठाउनु गलत भएको निर्णय गरेको हो ।

आयोगले उक्त निर्णय कार्यान्वयन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ९ जेठमा पत्र पठाएको थियो । पर्यटनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अख्तियारको निर्णय कार्यान्वयनको व्यवस्था मिलाउन भनेको थियो । सोहीअनुसार संघीय मामिलाले सम्पूर्ण स्थानीय तहलाई मंगलबार पत्राचार गर्दै अख्तियारको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ । उक्त निर्णय सबै स्थानीय तहमा लागु हुने बताएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार भूगोल प्रवेश गरेकै आधारमा पर्यटकबाट शुल्क लिन नपाइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: