क्युकोशिन करातेका पूर्वखेलाडीको अभियान, ‘खेलाडी र प्रशिक्षकलाई सम्मान’ « Nagarik Khabar

क्युकोशिन करातेका पूर्वखेलाडीको अभियान, ‘खेलाडी र प्रशिक्षकलाई सम्मान’



काठमाडौ । विश्वका विभिन्न मुलुकमा रहेका क्युकोशिन करातेका पूर्व तथा वर्तमान खेलाडीहरूको संस्था युनाइटेड नेप्लिज क्युकोशियन एडभान्समेन्टले यो वर्षदेखी आफ्ना खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने भएका छन् ।

संस्थाले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले तय गरेको छनोट प्रक्रियामार्फत छनोट भएका क्योकुशिन र फुल कन्ट्याक्ट करातेका एक/एक महिला र पुरुष खेलाडीलाई जनही एक/एक लाखले सम्मान गर्ने जनाएको हो ।

छनोट प्रक्रियामा दोस्रो हुने खेलाडीलाई ६०/६० हजार र तेस्रो हुने खेलाडीलाई ४०/४० हजारले सम्मान गर्ने संस्थाले जनाएको छ । यस्तै प्रशिक्षकलाई १०/१० हजारले सम्मान गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा संस्थाका कोषाध्यक्ष इन्द्रसुरज मल्लले यो सम्मान आगामी दशैं अगाडिनै भव्य कार्यक्रमको आयोजना गरी प्रदान गर्ने जनाए ।

पत्रकार सम्मेलनमा संस्थाले एउटा अक्षयकोषमार्फत खेलाडीहरुलाई सहयोग, स्वास्थ्य बीमा, खेलाडी सम्मानलगायतको काम गर्ने जानकारी दिइएको थियो । तत्कालका लागि विभिन्न स्रोतबाट रकम जुटाएर २० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिने संस्थाका उपाध्यक्ष सुरज कार्कीले जानकारी दिए ।

कतिपय प्रतिभाशाली खेलाडीहरुसमेत विभिन्न कारणले खेललाई निरन्तरता दिन नसक्ने अवस्था आफूहरुले विगतमा पनि भोगेको भन्दै संस्थाका केन्द्रिय सदस्य प्रभाकर शाहले त्यस्ता खेलाडीहरुलाई सहयोग गर्न संस्था स्थापना गरिएको जानकारी दिए ।

संस्थाले हरेक वर्ष सेमिनार, वर्ष खेलाडी तथा गुरुहरूको सम्मान गर्ने जनाएको छ । झण्डै दर्जन बढी मुलुकमा रहेका पूर्व तथा वर्तमान खेलाडीहरूले मिलेर खोलेको संस्थाका अध्यक्ष रुपेश डंगोल (जापान) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: