मानव अधिकार उल्लंघनका घटना अनुगमनका लागि टोली गठन « Nagarik Khabar

मानव अधिकार उल्लंघनका घटना अनुगमनका लागि टोली गठन



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका गम्भीर घटनाको अनुगमन गर्न ‘द्रूत अनुगमन तथा कार्य टोली’ बनाएको छ ।

मानव अधिकार उल्लंघनका गम्भीर घटनाको छिटो अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगका कानुन, अनुसन्धान तथा अनुगमन विभागका निर्देशक मुरारीप्रसाद खरेलको संयोजकत्वमा सो टोली बनाएको आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जानकारी दिए ।

टोलीले काठमाडौं उपत्यकालगायत देशका सम्पूर्ण भागमा घट्ने गम्भीर प्रकृतिका मानव अधिकार हननका विषयलाई अनुगमन गरी आयोगमा तत्कालै प्रतिवेदन पेश गर्नेछ । टोलीलाई सम्बन्धित सबै निकाय तथा सरोकारवालाले आवश्यक सहयोग पुर्याइ मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा साथ दिन आग्रह गरेको आयोगले जनाएको छ ।

प्रवक्ता भट्टराईद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाल देशको अवस्थाको अध्ययन गर्दा व्यक्तिको जीवन, मर्यादा, स्वतन्त्रता र समानताको अधिकार सम्वद्र्धन र संरक्षण गर्ने दिशामा पछिल्लो समयमा चुनौती थपिँदै गएको आभास भएको छ ।’

देश स्वतन्त्र निर्वाचनका माध्यमबाट लोकतन्त्र र दीगो शान्तिको पथमा अघि बढिरहेको समयमा मानव अधिकारका मूल्य र मान्यताको कदर गर्दै अघि बढ्न जरूरी भएको उनले विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशका आम नागरिक आफ्ना मौलिक हकको निर्वाध उपभोगको वातावरण सिर्जना हुन सकोस् भन्ने अपेक्षामा रहेको भए पनि अभिव्यक्ति स्वतन्त्रता, सामाजिक तथा सांस्कृतिक अधिकार, दण्डहीनताको स्थिति, गैरकानूनी थुना, यातना, स्वास्थ्यको अधिकार, नियोजित पुनः पक्राउ घटना, दोहोरो भिडन्त र हत्या, विष्फोटन, जबर्जस्ती चन्दा, विधिको शासनविपरीतका कार्य, अत्यधिक बल प्रयोगजस्ता घटनाप्रति आयोग चिन्तित भएको छ ।’

प्रत्येक विषयमा देखिने गरेका विरोध, प्रदर्शन र बल प्रयोगको स्थितिबाट मानव अधिकार संस्कृतिको निर्माणमा थप चुनौती सिर्जना हुने आयोगको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: