उज्वल थापा : दिउँसो ‘हिन्दू’ पार्टी प्रवेश, साँझ मुस्लिमलाई सहयोग « Nagarik Khabar

उज्वल थापा : दिउँसो ‘हिन्दू’ पार्टी प्रवेश, साँझ मुस्लिमलाई सहयोग



काठमाडौं । सामाजिक क्षेत्रमा कहलिएको नाम हो सिन्धुलीका उज्वल विक्रम थापा । गरिब, असहाय, बिरामीको सहयोगमा निरन्तर सक्रिय रहेका थापाको राजनीतिक छविभन्दा पनि सामाजिक छवि उच्च छ । सामान्यतः उनलाई कतिपयले यो वा त्यो पार्टीका नेता तथा कार्यकर्ताका रुपमा बुझ्दैनन् पनि ।

उनको यो उच्च छवि बन्नुको कारण सामाजिक जीवन नै हो । राजनीतिक रुपमा लामो समय राप्रपामा सक्रिय रहेपनि उनले राजनीतिक रुपमा कसैलाई पनि भेदभाव गरेनन् । भेदभाव गरे त केबल गरिब र धनीलाई । सक्ने र नसक्नेलाई । उनी अप्ठेरामा परेकाको सधै सारथी बने । पीडितका लागि राहत बने । गरिबका लागि सहारा बने । पीडितका लागि राहत बने । हो, उज्वल थापाको छवि यस्तै यस्तै बन्यो ।

उनले पीडामा रहेकालाई राजनीतिक रुपमा कहिल्यै भेदभाव गरेनन् । कुन पार्टीका पीडित हुन भनेर कहिल्यै सोधेनन् । सोधे त केबल वास्तवमा पीडित हो कि होइन, साँच्चै सहयोग चाहिने मान्छे हो कि होइन ।

बुधबार काठमाडौंको नयाँ बानेश्वरमा भएको एक कार्यक्रमबाट भने उनको परिचय बदलियो । उनी सक्रिय राजनीतिमा आउने छनक दियो । उनी केन्द्रीय सदस्य रहेको राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) छाडे । उनी कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरे ।

पार्टी प्रवेश कार्यक्रममा पनि राप्रपा संयुक्त छाडेको भन्दा पनि समाजमा पुर्याएको योगदानको निकै धेरैबेर चर्चा भयो । राप्रपा अध्यक्ष कमल थापाले त उज्वल थापाको मुक्तकण्ठले प्रशंसा नै गरेका थिए । पार्टीको भन्दा सामाजिक व्यक्तित्वको उनले पनि चर्चा गरे ।

पार्टी प्रवेश कार्यक्रममा राप्रपाले बोक्दै आएको हिन्दू राज्यको माग मन परेकाले खुलेरै अभियानमा सक्रिय हुन राप्रपा प्रवेश गरेको उज्वल थापाले बताएका थिए ।

कमल थापा नेतृत्वको राप्रपाले निरन्तर एउटा एजेण्डा उठाइरहेको छ त्यो हो हिन्दू राज्य । त्यस अर्थमा राप्रपालाई हिन्दू पार्टी पनि भन्ने गरिन्छ । दिउँसो हिन्दू पार्टी प्रवेश गरेका उज्वल थापा साँझ भने मुस्लिमलाई सहयोग गर्न अस्पताल पुगे ।

बाराको कलैया उपमहानगरपालिका १६ मझौलियाका पाँच वर्षीय जिसान अन्सारी र डेढ वर्षीया इसरत खातुन भोजको दालमा डुबेर सख्त घाइते छन् । उनीहरु दाजुबहिनी हुन् । गत आइतबार भएको सो घटनापछि उनीहरुको काठमाडौंको कीर्तिपुरमा उपचाररत छन् ।

अहिलेसम्म करिब दुई लाख रुपैयाँ खर्च भइसकेको छ । उनी तेजाब प्रहारबाट घाइते जेनी खड्काको सहयोगका लागि कीर्तिपुर अस्पताल पुगेका थिए । त्यसबेला ती दुई नाबालकहरुको उपचारका लागि सहयोग गर्ने बाचा गरेर फर्केका थिए । गरिब परिवारका ती मुस्लिम परिवारलाई आर्थिक धान्न धौधौ थियो ।

बुवा मुवारक अन्सारी र आमा सलावुन खातुन खर्च जुटाउन छटपटिएको थापाले देखेका थिए । त्यसैले उनी आज पार्टी प्रवेश कार्यक्रमको केहीबेरमै कीर्तिपुरमा रहेको अस्पताल पुगे । उनीहरुको सहयोगका लागि केही मुस्लिम साथीहरुबाट संकलन गरेको रकमसहित उनले ५० हजार पाँच रुपैयाँ दिए । अप्ठेरो परे आफूलाई सम्पर्क गर्नु भन्दै मुस्लिम परिवारलाई सान्त्वना दिए ।

मानवीय सेवामा कुनै जात, धर्म, पार्टी र वर्ग हुर्नु हुँदैन भन्दै थापाले सामाजिक र मानवीय सेवा नै सबैभन्दा उच्च राजनीति भएको बताए । राजनीति गर्नेहरुले सामाजिक र मानवीय सेवा गर्न नसक्ने हो भने राजनीति देखावटी आदर्श मात्र हुने भन्दै राजनीतिक पार्टीमा सक्रिय रहेर पनि थप सामाजिक काममा सक्रिय हुने स्पष्ट पारे । विगतमा जस्तै आफूले अबका दिनमा पनि कुनै पनि पार्टीबीचमा भेदभाव नगरी सामाजिक काम गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: