विलियम्सनको कप्तानी पारीमा न्युजिल्यान्ड विजयी « Nagarik Khabar

विलियम्सनको कप्तानी पारीमा न्युजिल्यान्ड विजयी



बर्मिङहम (इङ्ल्यान्ड) । कप्तान केन विलियम्सले शतकीय पाली खेलेपछि न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध चार विकेटको जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

न्युजिल्यान्डले पाँच खेलबाट सर्वाधिक नौं अंक बनाएको छ । दक्षिण अफ्रिकालाई भने यो पराजयले थप मुस्किल थपिएको छ । ६ खेलबाट तीन अंक मात्रै भएको दक्षिण अफ्रिका अंकतालिकाको आठौं स्थानमा छ ।

बर्मिङहममा टस हारी पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा छोट्याइएको खेलमा पुरै ओभर खेल्दै ६ विकेट गुमाएर दुईसय ४१ रनको योगफल तय गरेको थियो ।

जवाफमा न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेट गुमाएर जित निश्चित गरेको हो । न्युजिल्यान्डको जितमा कप्तान विलियम्सनले अविजित एकसय ६ रनको शतकीय योगदान गरे । उनले आफ्नो पारीमा एक छक्का र नौं चौका प्रहार गरे ।

उनीबाहेक कोलिन डी ग्रान्डहोम्मीले ६० रनको योगदान दिए । उनले ४७ बलको आफ्नो पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि भने रसीई भान डर डुसेनले अविजित ६७ र प्रारम्भिक ब्याट्सम्यान हासिम अम्लले ५५ रनको अर्धशतकीय योगदान गरेका थिए । यद्यपि टोलीलाई जिताउने उनीहरूको प्रयास सफल भएन ।

न्युजिल्यान्डका लोकी फर्गुशन एक्लैले दक्षिण अफ्रिकाको तीन विकेट लिएका थिए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले पनि न्युजिल्यान्डको तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: