‘मुन्धुमी पार्क’ चोत्लुङ पार्कमा रमाउनेको घुइँचो « Nagarik Khabar

‘मुन्धुमी पार्क’ चोत्लुङ पार्कमा रमाउनेको घुइँचो



  • भैरब आङ्ला

तेह्रथुम । पूर्वी पहाडी जिल्ला तेह्रथुमको मुख्य प्रवेशद्धार बसन्तपुरमा पछिल्लो समय नयाँ बनेको पार्कले पूर्वका विभिन्न ठाउबाट वसन्तपुर घुम्न पुग्नेहरुको ध्यान तानेको छ । त्यहा बनेको लिम्वू जातिको मौलिक संस्कार संस्कृतिसँग सम्वन्धित सो पार्कले धेरैको ध्यान तानेको हो ।

विना माटो र विना सिमेन्ट निर्माण गरिएको सुन्दर ढुंगाको पार्क यतिबेला पूर्र्वी पहाडी जिल्ला तेह्रथुमको प्रबेशद्धार वसन्तपुर पुग्ने जो कोहीको मन तान्ने गरेको छ । लिम्वू जातिको मुन्धुममा बर्णन गरिएका विभिन्न वस्तुहरु पार्कमा बनाइएको छ ।

पहिले लिम्वू जातिको इष्ट देवता युमा माङले तान बुन्ने गरेको थाकथाक खिफमा र खिवेलुङ यहा बनाइएको छ । पार्कको विचमा गाडिएको अग्लो ढुंगालाई युमा माङको खिबेलुङ भनिन्छ । यहाँ लिम्वू जातिको मुन्धुममा वर्णन गरिएको नेन्दुरी पासाङ्गा, खाउमालुङ, काम्याङलुङ, हेन्जिरी हेम्बोङ्गे चोलुङ, परोक्मी याम्भामी युक्नासँगै ढुंगामा मान्छेको पाईला, कुखुराको पाईला र लिम्वू जातिको मुन्धुममा बर्णन गरिएको रुखको टोडका बनाईएको छ ।

यो पार्कमा पुग्ने जो कोहीले लिम्वू जातिको मुन्धुमको बारेमा सुनेको र खोजी गर्दै गरेको भए निकै राम्रो सहयोग पुग्ने धरानबाट चोत्लुङ पार्क पुगेका मोहन तिगेला बताउँछन् ।

योे पार्क साँच्चै मुन्धुमी पार्क बनेको छ । यहाँ लिम्वू जातिको मुन्धुममा वर्णन गरिएका प्रतिकहरु बनाइनुका साथै मुन्धुममा उल्लेख भएका बनस्पतिहरुको बिरुवा पनि रोपिएको छ । यसले गर्दा यो पार्क पछिल्लो समय तेह्रथुमको बसन्तपुर पुग्ने जो कोहीलाई निकै आकर्षित गर्न थालेको पार्क घुम्दै गरेका दिलकुमार राईले बताए ।

पार्कको निर्माण नै अनौठो तरिकाको छ । लिम्वू मुन्धुममा वर्णन गरिए जसरी ढुंगा चिठ्याइएको छ । त्यो पनि विना सिमेन्ट यस्तो सुन्दर पार्क बनेपछि अहिले आएर शैक्षिक भ्रमणमा जानेहरुको पनि मुख्य आर्कषणको केन्द्र बन्न थालेको छ । लिम्वू मुन्धुम र मिथक अनुसारको पार्क बनेको सुनेकै आधारमा विराटनगरबाट चोत्लुङ पार्क पुगेको प्रज्वल ढुंगानाले बताए ।

निकै उच्च ठाउँमा बनेको यो पार्कदेखि वरिपरिको रमणीय दृष्य मजाले अवलोकन गर्न सकिन्छ । तेह्रथुमको लालीगुँरास नगरपालिकाको वडा नं. ३ मा बनेको यो चोत्लुङ पार्कले धेरैको मन जितेको छ ।

पूर्वको ३२ प्रजातिको गुरास पाइने ठाउँ टिएमजे क्षेत्र अर्थात तीनजुरे, मिल्के र जलजले क्षेत्रको प्रबेशद्धारमै रहेको लालीगुरास नगरपालिकाको बसन्तपुर बजारमा पुग्ने जो कोहीको पछिल्लो सयम मुख्य आर्कषणको केन्द्र सो चोत्लुङ पार्क बन्दै गइरहेको छ ।

लालीगुरास नगरपालिकाको वडा नं. ३ मा करिव डेढ सय रोपनी जग्गामा चोत्लुङ पार्क निर्माण गरिएको छ । करिव १४ लाख खर्च भएको चोत्लुङ पार्कका योजनाकार तथा लालीगुरास नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङ बताउँछन् ।

पूर्वमा बसोवास गर्ने लिम्वू जातिहरुको मुन्धुममा वर्णन गरिएको मुन्धुमी पार्क तेह्रथुमको लालीगुरास नगरपालिकामा बनेको छ । यो पार्कले पूर्वका विभिन्न ठाउँबाट बसन्तपुर पुग्ने आन्तरिक तथा बाह्य पर्यटक दुवैको ध्यान तान्न सफल भएको छ । यसले पर्या पर्यटनमा निकै ठूलो सहयोग पुगेको छ । पार्कसँगै अहिले युमा संग्रहालय पनि बन्दैछ । यसको निर्माण सम्पन्न भएपछि यसले लिम्वू जातिको मुन्धुम खोज अनुसन्धान गर्नेहरुलाई यो पार्कबाट ठूलो सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: