गैरसरकारी संस्थाले अनुमति लिएर मात्र स्थानीय तहमा काम गर्नुपर्ने (भिडियोसहित) « Nagarik Khabar

गैरसरकारी संस्थाले अनुमति लिएर मात्र स्थानीय तहमा काम गर्नुपर्ने (भिडियोसहित)



काठमाडौँ । सरकारले गैरसरकारी संस्थालाई विना अनुमति काम गर्न रोक लगाउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरूलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिएका छन् ।

सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने उनको तर्क छ । बिहीबार काठमाडौँमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको जानकारी दिए । उनले स्थानीय तहलाई जनताको कामप्रति जबाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले सङ्घीय सरकार संविधान अनुसार चलेको र संविधानको परिधि भित्र रहेर स्थानीय तहलाई जनताको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न लागि परेको दाबी पनि गरे । उनले जनताको आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले स्थानीय तहमा अभिमुखिकरणको कार्यक्रमलाई तीव्रता दिई रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीत कुमार श्रेष्ठले स्थानीय तहको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम विस्तार गर्नका लागि आवश्यक रणनीति तय गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे । उनले स्थानीय तहको बजेट तथा योजनाको कामलाई प्रभावकारी बनाउन पनि सरकारले स्थानीय तहमै रहेर अभिमुखिकरण कार्यक्रम गर्ने योजना तय गरेको पनि जानकारी दिए ।

स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको सो सम्मेलनमा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरूका विषयमा विस्तृत छलफल गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: