गृह मन्त्रालयमा वृक्षारोपण गरेर लागू औषध दुरुपयोग रोक्न अभियान सुरु (भिडियोसहित) « Nagarik Khabar

गृह मन्त्रालयमा वृक्षारोपण गरेर लागू औषध दुरुपयोग रोक्न अभियान सुरु (भिडियोसहित)



काठमाडौँ । सरकारले ‘लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध सप्ताह व्यापी अभियान‘ सुरु गरेको छ । लागू औषध दुरुपयोग एवम् ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बिहीबार गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सो अभियानको शुभारम्भ गरिएको छ ।

गृह मन्त्रालय परिसरमा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै गृह सचिव प्रेमकुमार राईले लागू औषध दुरुपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर विभिन्न २६ वटा तय गरी सो अभियानलाई अघि बढाइएको जानकारी दिए ।

सरोकारवालाहरूको समन्वयमा सो कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयनलाई परिपत्र गरिएको पनि बताए ।

अभियान अन्तरगत देशभर लागू औषध रोकथाम, नीति र सो समस्या समाधानका लागि आवश्यक नीतिगत छलफल, गाँजा तथा अफिम खेतीको फडानीलगायतका कार्यक्रम पनि समावेश गरिएको छ । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ तय गरिएको सो सप्ताह व्यापी अभियान असार ११ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालमा हाल बर्सेनि ११ दशमलव ३६ प्रतिशतले लागू औषध प्रयोगकर्ताहरूको सङ्ख्यामा वृद्धि हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसैगरी कूल अपराध मध्ये ७ प्रतिशत अपराध लागू औषधसँग सम्बन्धित रहेका छन् । युवाहरू सो कुलतमा फस्ने क्रम बढे पछि सरकारले त्यसलाई नियन्त्रणमा लिन सो जनचेतनामूलक अभियान सञ्चालन गर्नु परेको पनि गृह सचिव राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: