काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली टीट्वेन्टी विश्वकप एसियाली छनोट प्रतियोगिताको तयारीमा जुटेको छ । सन् २०२० मा अस्ट्रेलियामा हुने विश्वकपका लागि यही जुलाई २२ देखि २८ तारिखसम्म सिंगापुरमा एसियाली फाइनल छनोट हुँदै छ ।
सोही छनोट प्रतियोगिताका लागि बिहीबारबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । नेपाली टोलीले बिहीबारबाटै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तयारी सुरु गरेको छ ।
प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राष्ट्रिय टोली छनोट समितिले छनोट गरेको २५ खेलाडी सहभागी छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि अमिनुल इज्लाम, नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटुवाल र कप्तान पारस खड्का रहेको तीन सदस्यीय छनोट समितिले प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन् ।
प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, रोहितकुमार पौडेल रहेका छन् ।
यस्तै अमित श्रेष्ठ, भिम सार्की, विनोद भण्डारी, जितेन्द्रकुमार मुखिया, कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजबंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदिप ऐरी, राजु रिजाल, शहब आलम, सन्दीप जोरा र सुशन भारी बन्द प्रशिक्षणमा सहभागी छन् ।