काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका वडा नं २ स्थायी घर भएका कुमार पौडेल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज हुन् । पौडेलले २०६२/०६३पछि चुरे भावरबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी पछि एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादी विभाजनपछि मोहन वैद्य किरण नेतृत्वको नेकपा(माओवादीमा सक्रिय पौडेल पछि विप्लव नेतृत्वको पार्टीमा क्रियाशील भए ।
पौडेल बागमती नगरपालिकामा रहेको बहुचर्चित सागरनाथ वन परियोजनाको झन्डै ४ हजार विगाह जमिन कब्जा गरेर सुकुम्वासी बस्ती बसाउने नेता समेत हुन । सुकुम्वासी बस्ती हटाउने क्रममा पनि गोली चलेको थियो ।
धरहरामा रहेको घरमा बाबु आमा, भाइ, श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाको जानकारी पाएपछि परिवारमा रुवाबासी भएको स्थानीय बासिन्दा समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कमल बुढाथोकीले जानकारी दिए । उनले भने ‘आँटिलो स्वभावको हुनुहुन्थ्यो । चुरे भावरबाट राजनीति सुरु गर्नु भएको थियो । आज यस्तो भएको घटना सुन्दा नराम्रो लाग्यो । म घटनास्थल पनि पुगेर फर्किए । जे भयो राम्रो भएन । घटनास्थलमा दुईवटा पेस्तोल देखिएको छ ।’
घटनामा सँगै रहेका अन्य तीन जनाले स्थानीयलाई फोन गरेर प्रहरीले गोली चलाएको र कुमार जी त्यहाँ रहेकाले बुझ्न आग्रह गरेका थिए । दिउँसो ३ बजेतिर सिन्धुली जाने क्रममा प्रहरीसँग भिडन्त भएको स्थानीयले बताएका छन् ।
बागमती नगरपालिकाका प्रमुख भरत थापालाई कारबाही गर्ने चेतावनी दिएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो । उनले नै थापा विरुद्ध विभिन्न आरोप लगाएर कारबाही गर्ने धम्की दिएका थिए । पौडेल कराँतेको खेलाडी समेत थिए ।
प्रहरी कारबाही: विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु