‘हामी विश्वकप सपना बोकेर हिँडिरहेका छौं’ « Nagarik Khabar

‘हामी विश्वकप सपना बोकेर हिँडिरहेका छौं’



  • सोमपाल कामी, क्रिकेटर

मैले सन् २००३ देखि विश्वकप क्रिकेट हेर्न सुरु गरेको हुँ । त्यसबेला सचिन तेन्दुल्करले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बने । भारत र पाकिस्तानबीचको खेलले क्रिकेटप्रति थप ध्यान तानेको हो ।

त्यसबेला तेन्दुल्कर र राहुल द्रभिडको ब्याटिङ तथा सोएब अख्तरको बलिङ खतरा लाग्थ्यो । त्यसयता नियमितजस्तै विश्वकप हेर्दै आइरहेको छु । जारी विश्वकपका खेलहरू पनि भ्याएसम्म हेरिरहेको छु ।

मेरो चाँडै सुत्ने बानी छ । तै पनि राम्रा खेल भए अबेरसम्म कुरेर पनि हेर्छु । यद्यपि, अहिलेसम्मका खेलहरू त्यति प्रतिस्पर्धात्मक लागेको छैन । अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको खेल केही प्रतिस्पर्धात्मक होला भन्ने अपेक्षा थियो । अस्ट्रेलियाले राम्रो खेल्यो भनौं या वेस्ट इन्डिजले कमजोर खेल्यो भनौं, त्यो खेल पनि सोचेको जस्तो प्रतिस्पर्धात्मक भएन ।

यो विश्वकप खेल्ने यात्रामा हामी पनि पछिसम्मै थियौं । तर, अन्तिम छनोट प्रतियोगितामा पुगेर रोकिएका थियौं ।  तै पनि म त्यति धेरै दुःखी छैन । हामीले त्यही प्रतियोगिताबाट पहिलो पटक एकदिवसीय टोलीको मान्यता लिएर फर्किएका थियौं ।

विश्वकपसम्म पुग्न हाम्रा लागि सहज छैन । हामीसँग अझै होम बोर्ड छैन । टोलीलाई समायोजन गरिदिने निकाय छैन । हामीसँग अझै पनि धेरै समस्या छन् । त्यसका बाबजुद हामीसँग जे छ, त्यसमै मेहनत गरिरहेका छौं । विश्वकप खेल्ने सपनाले हामीलाई मेहनत गर्न प्रेरित गरिरहेको छ । हामी अझै पनि विश्वकप सपना बोकेर हिँडिरहेका छौं । आशा छ,  चाँडै विश्वकप खेल्ने छौं ।

 इङ्ल्यान्ड, भारत, अस्ट्रेलिया र बंगलादेश बलिया

प्रतियोगितामा अझै धेरै खेल बाँकी नै छन् । अहिलेसम्मको खेल हेर्दा इङ्ल्यान्ड, भारत, अस्ट्रेलिया र बंगलादेश अन्तिम चारमा पुग्छन् जस्तो लागेको छ । यी टोलीले अहिलेसम्म जसरी खेलिरहेको छ, त्यसका आधारमा यी चार टोली नै प्रतियोगिताको अन्तिम चारमा पुग्छन् जस्तो लागेको छ ।

घरेलु टोली इङ्ल्यान्डले साँच्चीकै उच्च स्तरको क्रिकेट खेलिरहेको छ । उसलाई घरेलु मैदानको साथ पनि छ । भारतले पछिल्लो दुई वर्षदेखि नै विश्वकपको तयारी गरिरहेको थियो । उसले विश्वकपकै लागि लामो समयदेखि एउटै टोलीलाई खेलाइरहेको थियो ।

अस्ट्रेलियाको टोली पनि डेभिड वार्नर र स्टेभन स्मिथ फर्किएपछि मजबुत देखिएको छ । न्युजिल्यान्डलाई धेरैले पछ्याइरहेको छैन । तर, ऊ विश्वकपको दाबेदार टोली हो । बंगलादेशले यो विश्वकपमा फरक अन्दाजले खेलिरहेको छ । विशेषगरी वेस्ट इन्डिजविरुद्धको खेलमा उसले जसरी खेल्यो, त्यो खेलबाट बंगलादेशले आफूलाई अघिल्लो चरणाको दाबेदार टोली बनाएको छ ।

वेस्ट इन्डिज आफ्नो रणनीतिमा कतै चुकिरहेको छ । पछिल्लो तीन खेलमा निरन्तर ‘सर्ट बल’ खेलाइरहेको थियो । सबै खेलमा एउटै रणनीति चल्दैन । वेस्ट इन्डिजको त्यो रणनीतिमा बंगलादेशले राम्रो तयारी गरेर आएको थियो । त्यसैले वेस्ट इन्डिजले दिएको ठूलो रनको योगफलसमेत उसले सहजै पार गरेको थियो ।

अफगानिस्तानले सायद त्यो स्तरको अनुभव पाएको छैन। त्यसैले उसले सोचेको जस्तो खेल्न सकिरहेको छैन । एसियन टोलीहरूलाई इङ्ल्यान्डको कन्डिसनमा खेल्न मुस्किल हुने गर्दछ । अहिले उनीहरूलाई भएको पनि त्यही हो । सायद यो विश्वकप एसियामा भएको थियो भने अफगानिस्तानले एक/दुई वटा टोलीलाई पराजित गरिछाड्थ्यो ।

दक्षिण अफ्रिकाको हालत पनि उस्तै छ । उनीहरूको टिम परिवर्तन भइरहेको छ । सम्भवतः दक्षिण अफ्रिकाको कप्तान फफ्फ दु प्लेसिस, क्विन्टन डी कक, काजिसो रबडा र इमरान ताहिरले मात्रै सँगसँगै जस्तो खेलिरहेका छन् । अन्य खेलाडीहरूले विरलै सँगै खेल्ने अवसर पाएका छन् । उनीहरूको टोलीमा त्यही समस्या भएको हो ।

पाकिस्तान नराम्रो टोली होइन । यद्यपि यस पटक उनीहरूलाई पनि कन्डिसनले साथ दिएन । भारत सधैं उत्कृष्ट ब्याट्सम्यान भएको टोली हो । पाकिस्तानसँग सधैं राम्रा बलर हुन्छन् । तर, इङ्ल्यान्डको कन्डिसन उनीहरूका बलरलाई सहयोग गर्ने खालको थिएन । त्यसैले भारतसँगको प्रतिस्पर्धामा उनीहरू यो विश्वकपमा पनि पछि रहे ।

प्रतिस्पर्धा जस्तो भए पनि विश्वकप यस्तो प्रतियोगिता हो, जसले हामीलाई टेलिभिजन हेरेरै भए पनि केही सिक्ने अवसर दिएको छ । यो विश्वकपमा इङ्ल्यान्डका इयोन मोर्गान, जोई रुट, भारतका विराट कोहली, जसप्रित बुम्रा, भुवनेश्वरकुमारलगायत खेलाडीहरुको खेल नजिकबाट हेर्ने प्रयास गरिरहेको छु ।

उनीहरूको खेलबाट पनि केही सिक्ने अवसर मिलेको छ । क्रिकेट हेर्दा विशेष गरी बलिङमा केही बढी ध्यान जाने गरेको छ । त्यसबाहेक अन्य कुरामा पनि ध्यान दिने गरेको छु । कुन टोलीले कस्तो रणनीति अपनाएका छन् ? कुन खेलाडीले कुन बलरलाई कसरी खेलेको छ ? यी कुराहरू हेर्ने गरेको छु ।

घरमा एक्लै बसेर हेर्दा केही बढी सिक्न सक्छु जस्तो लाग्छ । त्यसैले प्रायः खेलहरू एक्लै बसेर हेर्ने गरेको छु ।

प्रस्तुती : दीपेन्द्र गुरुङ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: