सहकारीमार्फत ठगी गर्ने जेल चलान « Nagarik Khabar

सहकारीमार्फत ठगी गर्ने जेल चलान



काठमाडौं । काठमाडौंको चाबहिलमा सहकारी संस्था स्थापना गरी ठगी गर्ने एकजनालाई बिहीबार जेल चलान गरिएको छ ।

उच्च अदालत पाटनको वि.सं. २०७३ जेठ २५ को फैसलाले आठ लाख ४६ हजार जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका काठमाडौं महानगरपालिका– ७ का रोशन श्रेष्ठ बिहीबार कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ ।

फैसलापछि फरार हुँदै आएका उनलाई बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ परी काठमाडौं जिल्ला अदालत पेश गरिएकामा बिहीबार कारागार चलान भएको सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

श्रेष्ठसहितको समूहले काठमाडौंको चाबहिलस्थित साइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरी ठगी गरेको आरोपमा जाहेरी परेको थियो । उनीहरुले सर्वसाधारणलाई झुठो प्रलोभनमा पारी ३३ लाख ८५ हजार ५०० रकम संकलन गरेर संस्था नै बन्द गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा अदालतले श्रेष्ठको हकमा दामासायीबाट हुन आउने आठ लाख ४६ हजार २५० बिगो कायम गरी सोहीबमोजिम जरिवानाको फैसला गरेको थियो । श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले बिहीबारै कारागार चलान गरेको सिआइवीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: