खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Nagarik Khabar

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार विभागका महानिर्देशक संजीव कुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल र Prudent Meditech Internationalका प्रतिनिधि प्रविण कुँवरविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले उनीहरुविरुद्ध प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि भ्यान खरिद गर्दा अनियमितता गरेको अभियोगमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

उनीहरुले गुणस्तरहीन भएको प्राविधिक प्रतिवेदनलाई बेवास्ता गर्दै भ्यान खरिदमा अनियमितता गरेको अख्तियारको दावी छ । ‘गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेतलाई अनदेखा गरी सप्लायर्ससँगको मिलेमतोमा बदनियतपूर्वक आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई चार थान प्रयोगशाला मोबाइल भ्यानको भुक्तानी दिने गरी दुइ पटकमा जम्मा रू.२४,८०,९५,११६ (चौबीस करोड असी लाख पञ्चानब्बे हजार एक सय सोह्र रुपैयाँ) हिनामिना हानिनोक्सानी गरी,’ अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसमेतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान (Well Equipment Laboratory Mobile Van) खरिद गर्दा भ्यान खरिद गरी कार्यालयमा दाखिला नभएको अवस्था हुँदाहुँदै नियम कानूनलाई आफू अनुकूल प्रयोग गरी कमिशन खाई भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् विस्तृत विवरण

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: